साउन २५, २०८२।
चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल सरकारमा सहभागी हुने विषय आफ्नो प्राथमिकतामा नरहेको स्पष्ट पारेका छन्।
सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सरकारले गरेका कामको आलोचना गर्दा माओवादीलाई सत्ता चाहिएको रूपमा व्याख्या गर्नु गलत भएको बताए। यो सरकारले राम्रो काम गरिरहेको छैन भन्ने कुरा उठाउँदा हामीलाई सरकार चाहिएको भन्ने बुझ्नु हुँदैन दाहालले भने अहिलेसम्म त्यसबारे कुनै चासो छैन।
उनका अनुसार माओवादी केन्द्रले भदौको तेस्रो साताबाट स्थगित पार्टी अभियानलाई पुनः सुरु गर्नेछ। त्यसपछि केन्द्रीय समिति बैठक बसी नयाँ एजेण्डासहित अघि बढ्ने योजना रहेको उनले जानकारी दिए। हामी अहिले जनताको गुनासा सुन्ने र ती समस्याको समाधान खोज्ने अभियानतर्फ केन्द्रित छौं दाहालको भनाइ थियो।
हालै सम्पन्न स्थायी समिति बैठकले पार्टीलाई अझ एकताबद्ध बनाएको दाबी गर्दै उनले बैठकका निर्णयलाई कार्यान्वयनमा ल्याइने बताए। फरक प्रसंगमा दाहालले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको उल्लेख गर्दै त्यसको निर्माण द्रुतगतिमा सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए।