काठमाडौं, साउन ११ – थाईल्यान्ड र क्याम्बोडियाबीच शताब्दीयौँदेखि चलिरहेको सीमा विवादले पुनः हजारौंको रगत बगाएको छ। पछिल्ला दिनहरूमा तीव्र बनेको सैन्य द्वन्द्वमा हालसम्म ३० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्। द्वन्द्वको केन्द्रमा छ, ११ औँ शताब्दीमा बनेको भगवान् शिवको ऐतिहासिक मन्दिर ‘प्रेह विहेयर’।
गएको बिहीबार बिहानदेखि सुरु भएको झडपमा दुबै देशका सेनाले शक्तिशाली हतियार प्रयोग गरिरहेका छन्। क्याम्बोडियाले थाईल्यान्डमाथि मन्दिरनजिकै लडाकु विमानबाट बम खसालेर संरचनामा क्षति पुर्याएको गम्भीर आरोप लगाएको छ भने थाई पक्षले यस्ता आक्षेप अस्वीकार गर्दै आफ्नो निशाना मन्दिरभन्दा टाढा रहेको दाबी गरेको छ।
थाई-क्याम्बोडिया सीमा विवादको इतिहास फ्रेन्च उपनिवेशकालमा झांगिएको हो। क्याम्बोडिया फ्रान्सको उपनिवेश हुँदा गरिएको सीमाङ्कनप्रति थाईल्यान्डले सधैं असहमति जनाउँदै आएको छ। सन् २००८ मा क्याम्बोडियाले विवादित क्षेत्रमा पर्ने प्रेह विहेयर मन्दिरलाई यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्न लागेपछि विवाद फेरि चर्किएको थियो।
त्यसयता बारम्बार तनाव चुलिँदै आएको छ। पछिल्ला महिनाहरूमा द्विपक्षीय सम्बन्ध झन् बिग्रिएको छ। मे महिनाको एक भिडन्तमा क्याम्बोडियाका सैनिकको मृत्यु भएपछि परिस्थिति चिसिएको हो। क्याम्बोडियाले थाई उत्पादनहरूमा प्रतिबन्ध लगाउँदै आर्थिक एवं संचार माध्यममा समेत बहिष्कारको नीति अपनाएको छ।
यूनेस्कोका अनुसार प्रेह विहेयर मन्दिर क्याम्बोडियाको उत्तरी सीमावर्ती उच्च भूमि ‘डाङरेक’ पहाडको किनारमा अवस्थित छ। यो मन्दिर हिन्दू देवता शिवलाई समर्पित धार्मिक तथा सांस्कृतिक सम्पदा हो। मुख्यतः ११ औँ शताब्दीमा निर्माण भए पनि यसको धार्मिक इतिहास नवौँ शताब्दीसम्म पुग्छ।
धार्मिक, सांस्कृतिक र वास्तुकलात्मक रूपमा उच्च मूल्य भएको यो सम्पदाको संरक्षण राम्रोसँग गरिएको बताइन्छ। तर क्याम्बोडियाले अहिले मन्दिरमाथि गरिएको आक्रमणबाट गम्भीर क्षति पुगेको भन्दै युनस्कोको संरक्षण मूल्यको उल्लंघन भएको आरोप लगाएको छ।
✦ अन्तर्राष्ट्रिय अदालतको फैसला र त्यसको अस्वीकार
यो मन्दिरसम्बन्धी विवाद सन् १९६२ मा अन्तर्राष्ट्रिय अदालत (ICJ) सम्म पुगेको थियो। अदालतले सोही वर्ष जुन १५ मा फैसला सुनाउँदै मन्दिर क्याम्बोडियाको क्षेत्रभित्र पर्ने बताएको थियो र थाई सेनालाई हटाउने आदेश दिएको थियो। तर थाईल्यान्डले त्यो फैसला कहिल्यै पूर्णरूपमा स्वीकार गरेन।
थाई पक्षको दाबी अनुसार उनीहरूले उक्त सीमाङ्कनमा प्रयोग गरिएको नक्सा कहिल्यै स्वीकार गरेका थिएनन्। तर अदालतले नक्सा स्वीकार गरिएको निष्कर्षमा पुग्दै मन्दिर क्याम्बोडियाली भूभागमा पर्ने ठहर गरेको थियो।
द्वन्द्व चर्किँदै जाँदा विश्व समुदायले गम्भीर चिन्ता व्यक्त गरेको छ। संयुक्त राज्य अमेरिका, चीन, अस्ट्रेलिया, युरोपेली सङ्घ र फ्रान्सले दुवै पक्षलाई शान्ति र वार्ताबाट समस्या समाधान गर्न अपिल गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ‘शत्रुता अन्त्य गर्न, नागरिकको सुरक्षा गर्न र वार्ताको माध्यमबाट समाधान खोज्न’ आग्रह गरेका छन्। चीनले यो द्वन्द्वबाट गहिरो चिन्ता भएको भन्दै राजनीतिक संवादको बाटो रोज्नुपर्ने बताएको छ।