काठमाडौं, साउन ८ – नेकपा एमालेका पुर्व वरिष्ठ नेता डा. भीम रावल अब एकीकृत समाजवादी पार्टी (नेकपा एस) मा प्रवेशको तयारीमा छन्। पार्टीभित्रको वैचारिक विचलन, नेतृत्वशैली र व्यक्तिवादप्रति लामो समयदेखि असन्तुष्ट रहँदै आएका रावलले अध्यक्ष माधवकुमार नेपालसँग गोप्य वार्ता गरेको खुलासा भएपछि उनको नेकपा एस प्रवेशको सम्भावना बलियो बनेको छ।
यो वार्ता राजधानीमा केही दिनअघि भएको थियो, जुन केही घण्टासम्म चलेको र पार्टी प्रवेशका विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ। समावेशी राजनीति, वैचारिक स्पष्टता र कार्यकर्ताप्रतिको सम्मान जस्ता मुद्दामा दुवैबीच सहमति नजिकिएको बताइएको छ।
यही क्रममा एमालेका अर्का वरिष्ठ नेता वामदेव गौतमले पनि पार्टी परित्याग गरी नेकपा एस प्रवेश गरेका थिए। गौतमले एमालेको संगठन, विचार र राजनीतिक संस्कारमा अधोपतन आएको बताउँदै सुधार सम्भव नभएको निष्कर्षसहित समाजवादी धार रोजेका थिए। रावलको सम्भावित निर्णयलाई पनि त्यसकै निरन्तरता मानिएको छ।
डा. रावल पूर्व मन्त्री र सांसदका रूपमा लामो अनुभव बोकेका नेता हुन्। उनले झलनाथ खनाल, माधव नेपाल र केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुन, रक्षा र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। पार्टीभित्र उनलाई गहिरो वैचारिक धरातल भएको नेता र संगठनकर्ता नेताको रूपमा चिनिन्छ।
पछिल्ला वर्षमा उनले बारम्बार अध्यक्ष ओलीको नेतृत्वशैलीको आलोचना गर्दै आएका थिए। वैचारिक स्पष्टता, कार्यकर्ताको सशक्तीकरण र संगठनात्मक पारदर्शिताको माग गर्दै आएका रावल अन्ततः एमालेबाट निस्कासित भए। त्यसपछि उनले ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक नयाँ पार्टीको घोषणा गरेका थिए तर त्यो सक्रिय हुन सकेन।
अब माधव नेपालसँगको गोप्य छलफल, वामदेवको उदाहरण र साझा वैचारिक आधारले रावलको नेकपा एस प्रवेशलाई निश्चित दिशातर्फ डोर्याएको विश्लेषण गरिएको छ।
माधव नेपाल नेतृत्वले पनि वैचारिक निष्ठामा जोड दिँदै पार्टी विस्तार अभियान तीव्र बनाएको सन्दर्भमा रावलको प्रवेशले पार्टीलाई वैचारिक र सांगठनिक रूपले थप बलियो बनाउने विश्वास गरिएको छ।