काठमाडौं, साउन ११ – नेपालका बसील तोयनाले उज्बेकिस्तानको राजधानी तास्केन्तमा सम्पन्न वर्ल्ड युथ सभात च्याम्पियनसिपमा रजत पदक जितेर ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। हालैमात्र सुरु भएको सभात खेलमा नेपालका खेलाडीले पहिलो पटक विश्वस्तरीय प्रतियोगितामा यति ठूलो सफलता हात पार्नु गौरवको कुरा हो।
८०–८५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका बसीलले प्रतियोगिताको समूह चरणमा शानदार प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरे। पहिलो खेलमा उनले आयोजक देश उज्बेकिस्तानका जिदिरोभ मोहम्मदलाई पराजित गर्दै ३ अंक जोड्न सफल भए। दोस्रो खेलमा अजरबैजानका मेहमेद सुलेमनोभमाथि जित निकाल्दै थप ३ अंक बटुले।
तेस्रो खेलमा फ्रान्सका माल्भिन पेरीले वाकओभर दिएपछि बसील फाइनलमा ९ अंकका साथ प्रवेश गरेका थिए। फाइनलमा भने उनले पुनः फ्रान्सका खेलाडी पेरीसँग प्रतिस्पर्धा गरे। उत्कृष्ट प्रयासका बाबजुद बसील फाइनलमा पराजित भई रजत पदकमा सीमित भए।
बसील तोयनाले वर्ल्ड युथ सभात च्याम्पियनसिपमा ८०–८५ केजी समूहमा रजत पदक जिते
समूह चरणमा उज्बेकिस्तान र अजरबैजानका खेलाडीलाई पराजित गरे
फाइनलमा फ्रान्सका माल्भिन पेरीसँग हार
सभात संघका अध्यक्ष बस्नेतले उपलब्धिलाई ऐतिहासिक भने
नेपाल सभात संघका संस्थापक अध्यक्ष तथा एशियन सभात कन्फेडेरेसनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले बसीलको उपलब्धिलाई ऐतिहासिक भनी प्रशंसा गरे। उनले भने, “फ्रान्सजस्तो बलियो राष्ट्रका खेलाडीविरुद्ध फाइनलमा प्रतिस्पर्धा गर्नु आफैँमा ठूलो उपलब्धि हो। अन्तर्राष्ट्रिय प्रशिक्षक र खेलाडीहरू समेत नेपालका खेलाडीबाट प्रभावित भएका छन्।
बस्नेतले सरकार र सम्बन्धित निकायले सभात खेलमा लगानी र संरचना विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। यदि तीनै तहका सरकारले सभात खेललाई प्राथमिकतामा राखे, यो खेलमा नेपालले अन्तर्राष्ट्रिय स्तरमै आफ्नो परिचय बनाउने सम्भावना उच्च छ,उनले जोड दिए।
नेपालमा करिब दुई वर्षअघि मात्र औपचारिक रुपमा सुरु भएको सभात खेल छोटो अवधिमै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउन सफल भएको छ। बसीलको रजत पदक नेपाली खेलकुदको नयाँ सम्भावना र क्षमताको प्रतीक बनेको छ।