मंसिर १८, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौ – नेप्से सूचीकृत वाणिज्य बैंकहरूबीच अहिले लाभांश घोषणा सिजन चलिरहेको छ। हालसम्म १९ वाणिज्य बैंकमध्ये ११ बैंकले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन्, जसमा सबैभन्दा बढी लाभांश एभरेष्ट बैंकले प्रस्ताव गरेको छ।
एभरेष्ट बैंकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ, जसमा ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश समावेश छ। यो हालसम्म वाणिज्य बैंक समूहको सबैभन्दा उच्च लाभांश हो।
त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने भएको छ। कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद वितरण गर्ने भएको छ।
अन्य बैंकहरूले यसरी लाभांश घोषणा गरेका छन्।
एनएमबी बैंक: ५% बोनस + ५% नगद = १०%
नेपाल एसबीआई बैंक: ४% बोनस + ५% नगद = ९%
ग्लोबल आइएमई बैंक: ८% नगद
माछापुच्छ्रे बैंक: ४% बोनस + ४% नगद = ८%
सानिमा बैंक: ७.३७% नगद
सिटिजन्स बैंक: ५% बोनस + ०.२६% नगद = ५.२६% (सबैभन्दा कम) रहेको छ
यस वर्ष कुमारी बैंकले भने कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ।
अझै लाभांश घोषणा गर्न बाँकी रहेका ७ वाणिज्य बैंकमा नविल, प्रभु, हिमालयन, नेपाल बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंक छन्। तीमध्ये लाभांश वितरण गर्ने क्षमता नविल र प्रभु बैंकमा मात्र देखिएको बताइएको छ, जबकि अन्य बैंकहरूको अवस्था कमजोर देखिएको छ।
लाभांश सिजनसँगै लगानीकर्ताहरू आगामी घोषणाको प्रतीक्षा गरेर बसेका छन्।









