साउन १५, २०८२।
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद चुलिँदै गएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर संरक्षक रेशम चौधरी पक्षले आफ्नै बुबा लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरेपछि श्रेष्ठ आक्रोशित बनेकी छन्। उनले आफूलाई वैधानिक प्रक्रियाविना हटाइएको भन्दै कानुनी लडाइँमा जाने चेतावनी दिएकी छन्।
रेशम पक्षले बिहीबार आयोजना गरेको राष्ट्रिय भेलाबाट सांसद लालवीर चौधरीलाई अध्यक्ष नियुक्त गरिएको हो। तर अध्यक्ष रञ्जिता श्रेष्ठले उक्त प्रक्रिया अवैध भएको जिकिर गर्दै भनिन्, “म कानुनी प्रक्रियामा जान्छु। यसरी मनोमानी ढंगले अध्यक्ष हेरफेर गर्नु न पार्टीको हितमा हो न त कानुनसम्मत।
रेशम पक्षको भेलाले रञ्जिता श्रेष्ठलाई पार्टीबाट निष्कासनसमेत गरेको थियो। उनलाई साधारण सदस्यको हैसियतसमेत नरहने गरी हटाइएको हो। यद्यपि श्रेष्ठले भने आफू अझै पार्टी अध्यक्ष रहेको र यो सब षड्यन्त्र भएको दाबी गरेकी छन्।
श्रेष्ठ लिची बगान जग्गा हिनामिना प्रकरणमा मुछिएपछि पार्टीभित्रको असन्तुष्टि सतहमा आएको हो। त्यसपछि रेशम पक्षले पार्टीको नेतृत्व परिवर्तन गर्न खोजेको देखिएको छ।
यसैबीच, श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेकी छन्। पार्टी हित, विधान र राजनीतिक दलसम्बन्धी ऐन विपरीत कार्य गरेको भन्दै उनले चौधरीमाथि कारबाही गर्न माग गरेकी हुन्।
नाउपाको वर्तमान संकटले पार्टीको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ। अध्यक्ष परिवर्तनका विषयमा विवाद अदालतसम्म पुग्ने संकेत देखिएको छ।