राष्ट्रिय सभामा सरकार अल्पमतमा, विधेयक पारित गराउन सकस पर्ने भएको छ।
काठमाडौँ,श्रावन १- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल) ले समर्थन फिर्ता लिएपछि ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको पक्षमा २८ सांसद मात्रै बाँकी छन्, जबकि विपक्षमा ३० सांसद पुगेका छन्।
यसअघि कांग्रेस (१६), एमाले (१०), लोसपा (१) र मनोनीत (१) गरी २८ सांसदका साथै जसपाका ३ सांसदको समर्थन सरकारसँग थियो। तर जसपाले समर्थन फिर्ता गरेपछि विपक्षमा माओवादी (१७), एकीकृत समाजवादी (८), जसपा (३), जनमोर्चा (१) र मनोनीत (१) सांसद छन्।
विपक्षको बहुमत पुगेसँगै अब राष्ट्रिय सभामा कुनै पनि विधेयक पारित गर्न सरकारलाई अप्ठ्यारो पर्नेछ।
प्रतिनिधिसभामा भने ओली नेतृत्वको सरकारमा सहभागी पाँच दलसँग दुई तिहाइ सांसद रहेका कारण विश्वासको मत लिनुपर्ने अवस्था छैन। जसपाले समर्थन दिए पनि सरकारमा सहभागी नभएको र संविधानको धारा १०० (२) अनुसार समर्थन फिर्ताले मात्र विश्वासको मतको अनिवार्यता नरहने बताइएको छ।
उपेन्द्र यादवले सरकार गठनका बेलाका प्रतिबद्धता पुरा नगरेको, सुशासनको अभाव, बेरोजगारी अन्त्य र कृषि–उद्योग प्रवर्द्धनको काम नगरेको भन्दै समर्थन फिर्ता लिनुपरेको जनाएका छन्। साथै भूमि विधेयक जस्ताको तस्तै ल्याइएको भन्दै असहमति व्यक्त गरिएको छ।
जसपाका सांसद प्रकाश अधिकारीका अनुसार सरकारबाट सकारात्मक प्रतिक्रिया नआएको, आफ्ना एजेन्डाहरू बेवास्ता गरिएको र सरकारको गलत निर्णयको अपजस पनि समर्थनदातालाई आइपर्ने भएकाले समर्थन फिर्ता लिइएको हो।
अब सरकारलाई विधेयक पारित गर्न विपक्षको समर्थन खोज्नुपर्ने बाध्यता आएको छ। यादवले भनेका छन्, राम्रो काम गरेमा राष्ट्रिय सभामा पनि हामी सहयोग गर्छौं, तर अप्ठ्यारो पार्दैनौं।