
साउन १९, २०८२।
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसिम शाहले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूले राजीनामा दिएर सजिलै पन्छिने परिपाटीप्रति कडा असन्तोष जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले यस्तो संस्कारले भ्रष्टाचारमाथिको कारबाही प्रक्रिया नै कमजोर बनाइरहेको बताएका छन्।
सांसद शाहले संसदमा प्रश्न गरे, यो कस्तो नयाँ परम्परा हो ? भ्रष्टाचारको अडियो बाहिरिन्छ, प्रमाण देखिन्छ, अनि राजीनामा दिँदैमा सबै पाप पखालिन्छ ? राजीनामा दिनु गंगास्नान पो भयो कि भ्रष्टाचारको ?
उनको भनाइमा राजीनामालाई छानबिनको विकल्प बनाउने प्रवृत्तिले शासन प्रणालीप्रति जनविश्वास खस्किरहेको छ।
शाहले हालै राजीनामा दिएका तत्कालीन मन्त्री राजकुमार गुप्ताको उदाहरण दिंदै आरोप लगाए कि गुप्ताले राजीनामा दिएपछि छानबिन प्रक्रिया बन्द गरियो। साथै, उनले आरोप लगाए कि सोही अडियोमा नाम आएका अरु एकजना वर्तमान तथा एकजना पूर्वमन्त्रीलाई भने अदृश्य शक्तिले जोगाइरहेको छ।
उहाँहरूको लागि अर्कै कानुन हो ?
शाहले भने, के उहाँहरूको लागि अर्कै कानुन छ ? छानबिन गर्नु पर्दैन ? उनले यस्तो दोहोरो व्यवहारले कानुनको शासन र संस्थागत पारदर्शितामा प्रश्न उठाएको तर्क गरे।
सरकारले यस्तो संवेदनशील विषयमा आवश्यक प्रतिक्रिया नदिई मौन बस्नु सरकारको जिम्मेवारीबाट भाग्नु हो। संसदले सार्वजनिक चासोका विषयमा बहस गर्न पाउनुपर्ने अधिकार सुरक्षित रहनुपर्ने भन्दै उनले संसदीय प्रक्रिया बलियो बनाउन आह्वान गरे।
राजनीतिक जवाफदेहिता र भ्रष्टाचारमाथिको कठोर अनुसन्धानको माग गर्दै सांसद आसिम शाहको यो अभिव्यक्तिले संसदमा नयाँ बहसको सुरुवात गरेको छ। के राजीनामा मात्रै भ्रष्टाचारबाट उन्मुक्तिको उपाय हुन सक्छ त ? यो प्रश्न अब जनताले पनि सिधै सोध्न थालेका छन्।