Headlines

म्याग्दीको मालिकामा तामाखानी निस्क्यो

सडकबाट टाढा, तर सम्भावनाले नजिकिएको गाउँ म्याग्दीको तामाखानी

असार १९, २०८२ । काठमाडौं दैनिक, संवाददाता

काठमाडौं – म्याग्दीको मालिका गाउँपालिका ३ र ४ को सीमामा अवस्थित ओखरबोट, केही दशक अघिसम्म ऐतिहासिक महत्वको तामाखानीको नामले चिनिन्थ्यो।

स्थानीयले आफैंले बनाएका उपकरणबाट तामा निकाल्ने त्यसलाई बजारसम्म पुर्‍याउने अनि जीविकोपार्जन गर्ने यो गाउँका लागि त्यो समय स्वर्णयुग सरह थियो।
अब फेरि ओखरबोटको गर्भभित्र लुकेको धातुले गाउँको भविष्य बदल्ने संकेत देखाएको छ।

वि.सं. २०२८ सालसम्म यहाँबाट तामा निकालिन्थ्यो।
स्थानीय प्रविधि र श्रममै आधारित उत्पादन पद्धतिले दैनिक सात–आठ धार्नी तामा उत्पादन हुन्थ्यो। दुई सयभन्दा बढी श्रमिक नियमित खटिन्थे।

तर प्रविधिको अभाव, राज्यको कर तथा बजारको पहुँच नहुँदा खानी अन्ततः बन्द भयो। त्यो दिनदेखि खानी मौन रह्यो र ओखरबोटको तामा बिर्सिएको जस्तो भयो।

त्यो मौनतालाई अध्ययनकर्ताहरुको आवाजले तोड्न थालेको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको एम/एस दोङयी मिनरल्स प्रालिले यहाँ प्रारम्भिक वातावरणीय परीक्षण (IEE) गर्दै उत्खननको सम्भाव्यता अध्ययन थालेको छ।

अध्ययनमा जुटेको कम्पनीले गत साता ओखरबोटमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। स्थलगत अध्ययनका क्रममा गाउँका बासिन्दाले विगतको सम्झना गर्दै भविष्यप्रति अपेक्षा व्यक्त गरेका छन्।

७२ वर्षीय विसराम पटेल भन्छन् हामीले आफ्नै आँखा अगाडि खनिएको खानी देखेका छौं। फेरि उत्खनन शुरु भयो भने गाउँ फर्कन्छ, रोजगारी फर्कन्छ, हाम्रो आत्मसम्मान फर्कन्छ।

स्थानीयहरुले वातावरणीय क्षति न्यून पार्ने,रोजगारीमा स्थानियलाई प्राथमिकता दिने, पूर्वाधार विकासमा योगदान पुर्‍याउने शर्तसहित खानी उत्खननलाई समर्थन गरेका छन्। वडा अध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्हरुले तामाको परिमाण, उत्खननको प्रविधि, तथा वातावरणीय जोखिमबारे गहिरो अध्ययन गरिरहेका छन्।

भूगर्भविद् रोनित पौडेलका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सकिएपछि विस्तृत सम्भाव्यता अध्ययन हुनेछ। त्यसपछि मात्रै उत्खनन प्रक्रियामा जान सकिनेछ।
उनका अनुसार दुई मुख्य सुरुङ छन् जसको लम्बाइ २५० मिटरदेखि ५०० मिटरसम्म छ। अझै पनि ती सुरुङभित्र तामाका चिल्चिला घाउहरू देख्न सकिन्छ।

यसको अर्थ खानी फेरि चल्ने हो भने धेरै समय खेर जाने छैन। प्रविधिको सहजता, बजारको पहुँच र प्रशासनिक सहयोग रहने हो भने ओखरबोटको खानी फेरि उत्पादनमा फर्कन सक्छ।

तामाखानी पुनःसञ्चालनमा आएमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा हजारौं मानिस रोजगारीमा जोडिन सक्छन्। गाउँमै रोजगार सिर्जना हुँदा युवाहरुको पलायन रोक्न सकिन्छ। साथमा, गाउँमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानीजस्ता आधारभूत पूर्वाधार विस्तारमा पनि योगदान पुग्नेछ ।

साथै, खानी क्षेत्रले कर तिर्ने, स्थानिय तहमा आर्थिक क्रियाकलाप वृद्धि गर्ने र व्यापारलाई चलायमान बनाउने सम्भावना बोकेको छ। यसैबीच, मालिका गाउँपालिकाले पनि खानी क्षेत्रको सुरक्षित, पारदर्शी र न्यायिक विकासको लागि रणनीतिक योजना बनाउने तयारी थालेको जानकारी दिएको छ।

खानी उत्खननको सँगै केही चुनौतीहरू पनि छन्। प्रमुख चुनौती हो वातावरणीय असर,पहाडी भूगोल, नदीजन्य स्रोत, र चराचुरुङ्गी तथा वन्यजन्तुको वासस्थानलाई असर नगरी खानी सञ्चालन गर्नु सजिलो छैन।

यहीकारण प्रारम्भिक वातावरणीय परीक्षणको महत्त्व अत्यधिक छ। रोनित पौडेल भन्छन्, “हामी वातावरणमा पर्ने असर, त्यसको मूल्याङ्कन, र न्यूनीकरण विधि विकास गर्दैछौं। खानीको फाइदा लिने र प्रकृति जोगाउने सन्तुलन हाम्रो मूल लक्ष्य हो।

स्थानीय बासिन्दाको पनि यही माग छ उत्खनन हुनु पर्छ तर प्रकृति बिगारेर होइन, प्रकृति जोगाउँदै।

ओखरबोट तामाखानी नेपालको खानी इतिहासमा एउटा गौरवमय अध्याय हो। तर इतिहासले सिकाउँछ स्रोतको दोहन गरिँदा दीर्घकालीन असर के-कस्ता हुन्छन्। त्यसैले, यसपटक वैज्ञानिक, सहभागी र दिगो विकास मोडेल अवलम्बन नगरेसम्म यो खानीले फाइदा दिनु सट्टा क्षति निम्त्याउन सक्छ।

खासगरी म्याग्दीका पहाडहरू भूस्खलनको उच्च जोखिममा छन्। सतर्क योजना, प्रभावकारी अनुगमन र समन्वित निर्णय अत्यन्त आवश्यक रहेको छ ।

ओखरबोटको तामाखानी केवल एक गाउँको गाथा होइन। यो सम्पूर्ण नेपालको खानी क्षमता, आर्थिक संभाव्यता र स्रोत व्यवस्थापनसम्बन्धी दृष्टिकोणको परीक्षा हो।

मालिका गाउँपालिकाले आफ्नो इतिहासलाई आधुनिक रणनीति, प्रविधि र सरोकारवाला सहभागी योजनासँग जोड्न सक्यो भने यो खानी केवल तामा होइन सिङ्गो  गाउँको उज्यालो भविष्य बन्न सक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *