मंसिर २, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकको रूपमा आफूलाई प्रस्तुत गर्दै आन्दोलन चर्काउने घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार मध्यराति प्रहरीले पक्राउ गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ।
प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन चर्काउने घोषणा गर्दै सार्वजनिक रूपमा उग्र अभिव्यक्ति दिँदै आएका थिए। सुरक्षा निकायले केही समयदेखि उनलाई ‘नोटिस’मा राखेको थियो।
यसअघि प्रसाईं समूहका तर्फबाट २६ बुँदे मागसहित गृहमन्त्रालयमा वार्ता टोली पुगेको थियो। प्रसाईं साइबर कसुर तथा गत चैत १५, २०८१ मा भएका घटनासहित तीन मुद्दाका धरौटीमा छुटेका थिए ।
आइतबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षाको तयारीका क्रममा भड्काउ, हिंसा र जनतालाई आतंकित पार्ने किसिमका अभिव्यक्तिबिरुद्ध कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो। बैठकमा प्रसाईंको नामै लिएर छलफल भएको स्रोतले बताएको छ।
सुरक्षा निकायले वातावरण अस्थिर बनाउने गतिविधि रोक्न आवश्यक कदमका रूपमा उनको गिरफ्तारी गरिएको बताएको छ।









