धरान, असार ३०- धरान उपमहानगरपालिकाले स्थापित गरेको ‘माया धराने बेसार उद्योग’को उद्घाटनसँगै देशभर चर्चा सुरु भएको छ । धरान २० स्थित भञ्ज्याङमा शुक्रबार आयोजित एक भव्य समारोहका बीच उक्त उद्योगको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटनकै दिन २ लाख ५५ हजार रुपैयाँको बेसार बिक्री भएपछि यो परियोजना धरानको स्थानीय आर्थिक विकासको नमूना बनेको छ ।
हर्क साम्पाङको सपना : माया धराने ब्रान्ड
धरानका लोकप्रिय मेयर हर्क साम्पाङको नेतृत्वमा स्थापना भएको यस उद्योगलाई स्थानीय सरकारको पहिलो औद्योगिक परियोजनाका रूपमा समेत हेरिएको छ । मेयर साम्पाङले विगतदेखि नै “माया धराने” ब्रान्डलाई अघि बढाउने दृढता राख्दै आएका थिए ।
साम्पाङले उद्घाटन समारोहमा भने माया धराने बेसार १०० प्रतिशत शुद्ध छ । यो हाम्रो माटो, पसिना र श्रमको प्रतिफल हो । उनले स्थानीय उत्पादनलाई राष्ट्रियस्तरको ब्रान्ड बनाउन सकिने विश्वास व्यक्त गरे ।
उद्योगको भवन निर्माणका लागि धरान उपमहानगरपालिकाबाट १६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ भने उपभोक्ताबाट २ लाख ८ हजार ६११ रुपैयाँ संकलन गरिएको छ । कुल १८ लाखभन्दा बढी लगानीमा निर्माण सम्पन्न भएको यो भवनको सञ्चालन स्थानीय समुदाय र उपभोक्ता समुहको सहकार्यमा गरिएको हो ।
सञ्चालन समितिको अध्यक्षता प्रसाद राईले गरिरहेका छन् । उद्घाटनको अवसरका लागि झण्डै १५ सय केजी बेसार उत्पादन गरिएको थियो । राईका अनुसार, उद्घाटनकै दिन २ लाख ५५ हजार २ सय रुपैयाँको बेसार बिक्री भएको हो, जुन एकदमै उत्साहजनक संकेत हो ।
उद्योगको स्थापना संगै स्थानीय किसान, उपभोक्ता र श्रमिकहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिएको छ। उद्योगमा प्रयोग हुने बेसार स्थानीय किसानबाट खरिद गरिन्छ, जसले गर्दा कृषिमा आधारित स्थानीय आर्थिक प्रणाली बलियो बन्ने विश्वास गरिएको छ ।
मिना सिंगक, मेयर साम्पाङको नजिककी सहयोगी हुन्। उनले जानकारी दिइन् कि बजारमा ‘माया धराने बेसार’को माग अत्यधिक बढेको छ । उनले भनिन्, शुद्धता, स्वाद र गुणस्तरकै कारणले यो बेसारले ग्राहकको मन जितेको छ ।
उद्योगको उद्घाटन समारोहमा धरान उपमहानगरका वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, सरकारी कर्मचारी, सर्वसाधारण तथा कृषकहरूको उल्लेख्य सहभागिता देखिएको थियो । साम्पाङले सबैलाई धन्यवाद दिँदै भने यो मेरो मात्र सपना होइन सबैको साझा अभियान हो।
उनले उद्योग स्थापनाका लागि श्रमदान गर्ने सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद दिँदै भने तपाईंहरूको निःस्वार्थ सहयोगले नै आज यो सपना साकार भएको हो ।
‘माया धराने बेसार उद्योग’ले स्थानीय सरकार, उपभोक्ता, किसान र युवाको सहकार्यमा बन्न सक्ने सशक्त उत्पादन प्रणालीको उदाहरण प्रस्तुत गरेको छ । यो योजना केवल एक उत्पादन उद्योग होइन, बरु स्थानीय स्वावलम्बन, उद्यमशीलता, कृषि विकास र रोजगारी सिर्जनासँग जोडिएको नीतिगत अभियान हो ।
नगरप्रमुख साम्पाङले उद्योगलाई भविष्यमै थप विस्तार गर्ने योजना सुनाउँदै भने अब हामी प्याकेजिङ सुधार गर्नेछौं ब्रान्डिङ र बजार विस्तार गर्नेछौं र यसलाई नेपालभर पुर्याउनेछौं ।
बेसार नेपालमा प्रयोग हुने अत्यावश्यक मसला हो । बजारमा पाइने अधिकांश बेसार भारतबाट आयात हुने हुँदा स्थानीय स्तरमा बेसार उत्पादन र व्यवसायिककरण गर्नु आफैंमा ठूलो उपलब्धि हो । यसले आयात प्रतिस्थापन मात्र होइन, कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्न पनि सहयोग पुर्याउनेछ ।
उद्योगमार्फत किसानको प्रत्यक्ष पहुँच र उत्पादन मूल्यको न्यायोचित मूल्यांकन हुने सम्भावना छ । यसले कृषि उत्पादनको बजार सुनिश्चित गर्दै किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।
उद्योगको प्रारम्भिक चरणमा बेसार उत्पादन, प्याकेजिङ र बिक्रीमा केन्द्रित गरिएको भए पनि आगामी चरणमा विविध मसला तथा औषधिजन्य उत्पादनहरू पनि समावेश गर्ने योजना रहेको जानकारी गराइएको छ । यसबाट युवाहरूको रोजगारीको अवसर थपिनेछ भने व्यवसायिक कृषि प्रणालीको अभ्यास पनि विस्तार हुनेछ ।
सिङकका अनुसार उद्योगमार्फत कम्तीमा २५ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ भने अन्य अप्रत्यक्ष रूपमा ५० जना किसान लाभान्वित भएका छन् । भविष्यमा यो संख्या सयौंमा पुग्ने अपेक्षा गरिएको छ ।
‘माया धराने बेसार उद्योग’ धरानको मात्र नभएर सिंगो नेपालकै लागि प्रेरणादायक परियोजना बनेको छ । स्थानीय सरकार, जनसहभागिता, पारदर्शिता र श्रमको सम्मानमार्फत कसरी उत्पादनमूलक र स्वदेशी प्रवर्द्धन गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ ।
उद्घाटनकै दिन देखिएको बजारको प्रतिक्रिया, उत्पादनको शुद्धता र नेतृत्वको स्पष्ट दृष्टिकोणले गर्दा यो परियोजना दीर्घकालीन सफलताको बाटोमा अग्रसर भएको देखिन्छ । धरान उपमहानगरको यो कदमले अन्य स्थानीय तहलाई पनि आत्मनिर्भरताको मार्गतर्फ प्रेरित गर्नेछ भन्ने विश्वास गरिएको छ ।