Headlines

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताको सहमति, साउन २ गते घोषणा हुने

समाजवादी पार्टी एकता

समाजवादी पार्टी एकता

काठमाडौं, असार २८–नेपालको वाम राजनीतिमा पुन एकपटक एकता प्रयासले गति लिएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच पार्टी एकता गर्न लिखित सहमति भएको छ। शुक्रबार (असार २७) दिउँसो काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुबै नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार सहमतिपत्रमा हस्ताक्षर भएसँगै अब विस्तृत कार्यक्रमका लागि छलफलहरू जारी रहने छन्। दुबै पार्टीबीच एकताको औपचारिक घोषणा भने साउन २ गते गरिने सहमति गरिएको छ।

सहमतिपत्र अनुसार, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमसहितका नेताहरुबीच राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता देखिएको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता भएकाले पार्टी एकता गर्ने सहमति भएको हो।

माधवकुमार नेपालले एमाले विभाजनपछि २०७८ मा नयाँ दल ‘नेकपा एकीकृत समाजवादी’ गठन गरेका थिए भने वामदेव गौतमले एमालेको मूल नेतृत्वमा असन्तुष्टि जनाउँदै ‘नेकपा एकता राष्ट्रिय अभियान’ चलाउँदै आएका थिए। यो सहकार्य वाम धारका शक्तिहरूलाई पुनः एकत्र गर्ने प्रयासका रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेकपा एमालेभित्रको असन्तोष र चुनावी चुनौतीसँग जुध्न वाम धारमा पुन एकता अपरिहार्य देखिएको थियो। यही कारणले माधव नेपाल र वामदेव गौतमबीच लामो समयदेखि संवाद चल्दै आएको थियो।

दुवै नेताहरूबीच सहमति भएपनि अब यो सहमति व्यवहारिक कार्यान्वयनमा कसरी ल्याइन्छ भन्ने मुख्य चुनौती हुनेछ। नेताहरूले संयुक्त घोषणा सभाबाट नयाँ कार्यदिशा र सांगठनिक संरचना पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार साउन २ गते एकता घोषणासँगै संयुक्त केन्द्रीय समिति गठन, कार्यदल बनाउने, सांगठनिक एकीकरणको खाका तय गर्ने र कार्यशैलीको तालमेल मिलाउने तयारी भइरहेको छ।

यो सहमतिले एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानका कार्यकर्ताहरूमा नयाँ ऊर्जा भरेको देखिन्छ। समाजवादी पार्टीभित्र विगत केही महिनादेखि सांगठनिक कमजोरी देखिँदै आएको बेला वामदेवको आगमनले नेतृत्वलाई सशक्त बनाउने विश्वास गरिएको छ।

राजनीतिक रूपमा कमजोर अवस्थामा रहेका दुबै वाम धारका नेताहरूको यो एकता भविष्यमा वाम गठबन्धनलाई बलियो बनाउने रणनीतिक चाल हुनसक्छ। तर विगतमा जस्तै सहमति भए पनि व्यवहारमा लागू गर्ने चुनौती, नेतृत्वको टकराव, सांगठनिक समायोजन र कार्यकर्ताहरूको मनोबल जस्ता पक्षहरू सावधानीपूर्वक सम्हाल्नु पर्नेछ।

पार्टी एकताको घोषणा साउन २ गते हुने पक्का भए पनि त्यसपछि आउने दिनहरूले यो एकताको वास्तविक दिशा र दीर्घकालीन प्रभाव देखाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *