साउन १७, २०८२।
काठमाडौं- न्युजेन तेक्वान्दो एकेडेमीका पाँच खेलाडी मलेसियामा आयोजना हुने सातौँ हिरोज इनभिटेसनल तेक्वान्दो कपमा सहभागी हुने भएका छन्। प्रतियोगिता साउन २२ गतेदेखि सुरु हुनेछ।
प्रतिस्पर्धामा सहभागी हुन तयार टोलीमा सम्राज्ञी क्षेत्री, रायन अर्याल, रिया अर्याल, स्वामिक महतरा र विष्णु महतरा रहेका छन्। पाँच सदस्यीय टोलीलाई प्रशिक्षक सुप्रेम गुरुङले नेतृत्व गर्नेछन्।
खेलाडीहरूलाई शुक्रबार एक विशेष कार्यक्रममार्फत बिदाइ गरिएको थियो। कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता आयशा शाक्य र कलाकार सन्दीप क्षेत्रीले टोलीलाई शुभकामना दिए।
आयशा शाक्यले खेलाडीहरूलाई जित वा हारको चिन्ता नगरी उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरिन्। उनले भनिन्, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नु नै ठूलो अवसर हो, त्यसैले आत्मविश्वासका साथ खेल्नुहोस्।
हिरोज तेक्वान्दो कप एक बहुराष्ट्रिय प्रतियोगिता हो जहाँ विभिन्न देशका खेलाडीहरूबीच प्रतिस्पर्धा हुने गर्छ। युवा खेलाडीहरूको विकास र अन्तर्राष्ट्रिय अनुभवका लागि यो प्रतियोगिता महत्वपूर्ण मानिन्छ।
यस प्रतियोगिताबाट नेपाली युवा खेलाडीहरूलाई नयाँ अनुभवका साथ अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ।