काठमाडौँ, साउन ५ –मधेस प्रदेश सरकारमा नयाँ सत्ता समीकरणको संकेत देखिएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले सत्तारूढ जनमत पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरिरहेका छन्। सतिश कुमार सिंहको नेतृत्वमा रहेको सरकार गठन भएको एक वर्ष पुगेसँगै कांग्रेस र एमाले नयाँ समीकरणतर्फ उन्मुख देखिएका हुन्।
कांग्रेस र एमाले दुवै दलका मधेस प्रदेशका नेताहरू अहिले काठमाडौंमा शीर्ष तहमा छलफलमा जुटिरहेका छन्। कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवका अनुसार जनमत पार्टीको एक वर्षे कार्यकालपछि उसैले स्वेच्छाले सरकार छाड्नुपर्ने भन्ने बुझाइ छ। उनले भने,यदि जनमत पार्टीले सरकार नछाड्ने हो भने हामी अर्को बाटो रोज्न बाध्य हुनेछौं।
तर जनमत पार्टी भने सरकार छाड्ने पक्षमा छैन। सो पार्टीका संसदीय दलका नेता महेश यादवले समर्थन फिर्ताको हल्ला मात्रै भएको बताउँदै कुनै आधिकारिक सहमति नभएको स्पष्ट पारेका छन्। कांग्रेस र एमालेले आफूखुसी कुरा गरेर सरकारलाई अप्ठ्यारोमा पार्न खोजिरहेका छन् उनले गुनासो गरे।
महेश यादवका अनुसार सरकारको कार्यकालबारे गठबन्धनभित्र कुनै सहमति भएको छैन। उनले कांग्रेसले यदि सहमति भएको दाबी गर्छ भने त्यो जनमत पार्टीलाई पनि थाहा हुनुपर्ने भन्दै आशंका व्यक्त गरे।
यसैबीच प्रदेशको राजनीति कता मोडिन्छ भन्नेबारे अझै अन्योल छ। तर राजनीतिक हलचलकाबीच गठबन्धनको भविष्यबारे प्रश्न उठ्न थालेको छ। एमाले र कांग्रेसबीचको साझा समझदारी भएमा मधेस सरकारको नेतृत्व फेरबदल हुन सक्ने अनुमान गरिएको छ।
जनमत पार्टीले सरकार नछाड्ने अडान लिइरहँदा सत्ता समीकरणको बहसले प्रदेशको राजनीतिक स्थायित्वमा असर पार्ने सम्भावना प्रष्ट रूपमा देखा परेको छ ।