बारा, साउन १३ – साउन लाग्दा लाग्दै रोपाइँ सक्ने परम्परा भएको मधेसमा यसपटक रोपाइँ त परै जाओस्, खेतमै चिरा देखिन थालेका छन्। बादल छैन, वर्षा छैन, अनि बिजुली पनि छैन। तराई मधेसका किसानहरू यसपालि वर्षा नभएर मात्रै होइन, विद्युत् अभाव र सरकारी उदासीनताले पनि झनै मारमा परेका छन्। बाराको बधवन, महागढीमाई, धरमपुर, रामनगरवा लगायतका गाउँहरूमा खडेरीले गहिरो असर पारेको छ।
हरेन्द्र महतो, सदय महतो, सुवास साह, शिवनाथ कानुजस्ता किसानको कथा एउटै छ, “न पानी, न लाइन, न आशा।
खेतहरू चिरा परेका छन्, कलहरू सुकिसकेका छन्, बोरिङ छन् तर चलाउन बिजुली छैन। किसानहरू रातभरि मोटर चलाएर पानी तान्न खोज्छन्, तर बत्ती आउने समयमा पानी आउँदैन। चर्को घाम र बिजुलीको अभावले खेत सुक्दैछन्, धान पहेँलिँदै छन् र मन निराश हुँदैछ।
महागढीमाईका कक्षा ९ का छात्र राजकपुर कुमार कुशवाहा १५ दिनदेखि विद्यालय जान सकेका छैनन्। रातभरि खेतमा पानी लगाउनु पर्छ। गाउँका कलहरू सुकिसकेका छन्, मोटर चलाउने बित्तिकै बत्ती जान्छ। घरको २ बिगाहा खेत नै जीवनको आधार हो, त्यो पनि सिँचाइ बिना बाँझिने हो भने परिवार कसरी चलाउने?
पहिले एक कट्ठामा तीन–चार मन धान हुन्थ्यो, अब त एक मन पनि हुने ग्यारेन्टी छैन,किसान हरेन्द्र महतो भन्छन्।
धेरैले ऋण काढेर मोटर किनेका छन्, तर मोटर चलाउने लाइन छैन।
जब खेतमा चिरा पर्छ, तब किसानको मनमा पीरको धर्सा कोरिन्छ।जब मोटरको आवाज बन्द हुन्छ, तब किसानको भविष्य अँध्यारो हुन्छ। जब सरकार चुप लाग्छ, तब गाउँ रित्तिन्छ।
यो खडेरीको कथा होइन, यो मधेसका लाखौँ किसानहरूको जीवित संघर्षको दस्तावेज हो।
र प्रश्न एउटै छ,अब घर कसरी चलाउने?
सुवास साह भन्छन्, ‘२४ घण्टामा चार घण्टा पनि बत्ती आउँदैन। मोटर चलाउँदै गर्दा आधा सिँचाइमै लाइन जान्छ। यस्तो अवस्थामा उनको आशाको केन्द्र सरकार हो तर सहयोगको कुनै चासो सरकारबाट देखिएको छैन।
शिवनाथ कानुजस्ता किसानका लागि अबको जीवन अझै अँध्यारो देखिन्छ। धान फल्दैन भने बच्चा कहाँ पढाउने, परिवार कसरी पाल्ने? उनको प्रश्न हो। बोरिङ छन्, तर पानी छैन। बिघौँ खेत सुकिरहेका छन्। खेतीको सट्टा अब भोक पाल्ने डर सताइरहेको छ।
सरकारले ठूलो बोरिङ गाडिदिएको भए सबै किसानलाई पानी पुग्थ्यो तर सरकार मौन छ। राहतको आशा बचेको छैन। किसानहरू सरकारको ढोका पुग्न सक्दैनन्, न सरकार गाउँ पुग्छ। अब त भगवान भरोसा उनीहरू भन्छन्।
यो समस्या केही किसानको मात्र होइन। बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जस्ता मधेसका अधिकांश जिल्लामा सिँचाइ संकट यथावत छ। कृषि मन्त्रालय मौन छ स्थानीय सरकारको पनि पहल छैन।