लिस्बन, “पोर्चुगल”असार ३० – युरोपस्थित नेपाली फुटबल समूदायलाई एकत्रित गर्ने उद्देश्यले धरान फुटबल क्लब पोर्चुगलले आयोजना गरेको दोस्रो बुढासुब्बा कप सेभेन-ए-साइड फुटबल प्रतियोगिता भिजन स्पोर्टस क्लबले जितेको छ। फाइनल खेलमा भिजन स्पोर्टस क्लबले ड्रिप सिटी ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै विजेता उपाधि हात पारेको हो।
यो प्रतिष्ठित प्रतियोगिता आइतबार लिस्बनस्थित विटोरिया दी क्लब खेलमैदानमा सम्पन्न भएको थियो। भिजन स्पोर्टस क्लबले उपाधिसँगै ५,००० युरो नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उता उपविजेता ड्रिप सिटी ब्वाइजले २,५०० युरो नगद, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो।
प्रतियोगिताको समापन समारोहमा पोर्चुगलका लागि पूर्व पर्यटनदूत रमेशकुमार गुरुङले विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरे। प्रतियोगितामा युरोपभरबाट आएका २० नेपाली फुटबल क्लबहरूको सहभागिता रहेको थियो।
आयोजक धरान फुटबल क्लबका अनुसार, कार्यक्रमले नेपाली खेल संस्कृति र आपसी सद्भावना प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेको बताइएको छ ।
भिजन स्पोर्टस क्लबका संयोजक अरुण राईले यस्तो किसिमको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली समुदायलाई अझ सशक्त र एकीकृत गर्न सहयोगी हुने विश्वास व्यक्त गरे।
यो प्रतियोगिता युरोपमा रहेका नेपालीहरूलाई फुटबलको माध्यमबाट एकताबद्ध बनाउने एउटा ऎतिसाहिक पहल भएको विश्लेषकहरूको भनाइ छ।