कार्तिक २४, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिक सोमबार राति भएको शक्तिशाली बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु र १२ जना घाइते भएका छन्।
विस्फोट मेट्रो स्टेसनको गेट नम्बर १ र ४ नजिक पार्क गरिएको कारमा भएको बताइएको छ। विस्फोटको आवाज निकै शक्तिशाली थियो, जसका कारण आसपासका गाडीहरूमा पनि क्षति पुगेको छ। दिल्ली अग्नि नियन्त्रक विभागका अनुसार विस्फोटको खबर साँझ करिब ७ बजे आएको थियो।
घटनापछि सम्पूर्ण क्षेत्रलाई सुरक्षाकर्मीहरूले घेरेर अनुसन्धान सुरु गरेका छन्। दिल्ली प्रहरीको स्पेसल सेल घटनास्थलमा खटाइएको छ।

एक स्थानीय पसलेका अनुसार, मैले विस्फोटको आवाज तीनपटक सुनेँ। आवाज यति ठूलो थियो कि म बाँच्ने कि नबाँच्ने भन्ने डर लागेको थियो। घटनास्थल नजिकै रहेका अरूले सडकभरि मानव शरीरका टुक्रा देखिएको बताएका छन्।
भारतको सेन्ट्रल रिजर्भ पुलिस फोर्स (CRPF) का डीआईजी किशोर प्रसादले घटनाबारे तत्काल केही भन्न हतारो हुने बताए।
यसैबीच दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्र थापाले नेपाली नागरिक विस्फोटमा नपरेको पुष्टि गरेका छन्।
विस्फोटपछि दिल्लीका मुख्य बजार र यातायात स्थानहरूमा उच्च सतर्कता अपनाइएको छ। उत्तर प्रदेश र मुम्बईमा समेत हाई अलर्ट जारी गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।














