
साउन २२, २०८२।
काठमाडौं – नेपाली महिला फुटबल टोलीले फिफा वरीयतामा हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै १३ स्थान उक्लिएर ८७औं स्थानमा पुग्न सफल भएको छ। फिफाले साउन २२ गते सार्वजनिक गरेको नयाँ महिला टोलीको अन्तर्राष्ट्रिय वरीयतामा नेपालले ४६.४९ अंकको सुधार गर्दै यो ऐतिहासिक फड्को मारेको हो।
नेपाल यसअघि १००औं स्थानमा थियो भने अहिलेसम्मको उच्च वरीयता ९१औं स्थान रहँदै आएको थियो। यसपटकको उकाइले नेपाली महिला फुटबलको इतिहासमा नयाँ अध्याय लेखेको छ । एसियाली राष्ट्रहरूमध्ये नेपाल १६औं स्थानमा रहेको छ।

नेपालको यो सफलता महिला एसियन कप छनोट चरणमा देखाएको उत्कृष्ट प्रदर्शनको नतिजा हो। छनोट खेलमा नेपालले श्रीलंकालाई ६–० ले तथा लाओसलाई १–० ले पराजित गरेको थियो।
उज्बेकिस्तानसँग भने गोलरहित बराबरी खेलेको थियो। यी परिणामहरूले नेपालको समग्र वरीयता सुधारमा ठूलो योगदान दिएका छन्।
फिफा महिला वरीयतामा हाल स्पेन शीर्ष स्थानमा उक्लिएको छ भने अमेरिका दोस्रो स्थानमा झरेको छ।
त्यस्तै पुरुषतर्फ भने नेपाल १७५औं स्थानमा यथावत् रहेको छ।