काठमाडौं, साउन १० – विश्व फुटबल महासंघ फिफाको महत्वाकांक्षी परियोजना ‘फुटबल फर स्कूल्स (Football for Schools)’ अब नेपालमा पनि सुरु हुन लागेको छ।
शिक्षा र खेललाई जोड्ने उद्देश्यले विश्वभर सञ्चालन हुँदै आएको यो कार्यक्रम नेपालमा पहिलोपटक सुरु गर्न लागिएको हो।
कार्यक्रमको औपचारिक उद्घाटन समारोह साउन १२ गते काठमाडौंमा आयोजना हुनेछ। उद्घाटन कार्यक्रम विशेष सांगीतिक प्रस्तुतिसहित हुनेछ जसमा चर्चित गायिका आस्था राउतले प्रस्तुति दिनेछिन्।
नेपालमा ‘फुटबल फर स्कूल्स’ कार्यक्रम नेपाल सरकार, अखिल नेपाल फुटबल संघ (एन्फा) र शिक्षा मन्त्रालयको सहकार्यमा सञ्चालन हुँदैछ। यस कार्यक्रम अन्तर्गत विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूलाई फुटबल खेलमार्फत नेतृत्व, टीमवर्क, आत्मविश्वास र अनुशासन सिकाउने लक्ष्य लिइएको छ।
कार्यक्रमको उद्घाटनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल पदाधिकारी, सरकारी प्रतिनिधि, शिक्षाविद् तथा खेलकर्मीहरूको उपस्थिति रहनेछ।
फिफाले यस अभियानमार्फत विद्यालयहरूमा फुटबल सामग्री (बलब, प्रशिक्षण किट आदि) उपलब्ध गराउनेछ र प्रशिक्षकमार्फत नियमित फुटबल अभ्यास गराइनेछ।
एन्फाका प्रवक्ताले भने फिफाको यो कार्यक्रमले नेपाली बालबालिकामा खेल संस्कृतिको विकास गर्नुका साथै विद्यालयमा फुटबलको आधारभूत संरचना निर्माणमा टेवा पुर्याउनेछ।
नेपाल ‘फुटबल फर स्कूल्स’ कार्यान्वयन गर्ने दक्षिण एशियाली देशमध्ये एक बनेको हो। यस कार्यक्रमले फुटबललाई मात्र नभई शिक्षालाई पनि थप व्यावहारिक बनाउने अपेक्षा गरिएको छ।