प्रेम विद्रोहबाट भोजपुरमा अन्तरजातीय विवाहले लियो चारजनाको ज्यान लिएको छ
असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता
भोजपुर – नेपालको ग्रामीण पहाडी गाउँमा एउटा मर्मान्तक घट्यो, जसले हाम्रो समाजभित्र गढेको जातीय सोच, परिवारिक अस्वीकृति र सम्बन्धलाई बुझ्ने नजरलाई झस्काइदिएको छ। शनिबार राति भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा अन्तरजातीय विवाह अस्वीकारको पीडादायी नतिजा देखियो जहाँ एउटै परिवारका चार जनाको ज्यान गयो।
३० वर्षीय राजेन्द्र राईले आफ्नै श्रीमतीसहित ससुरा, सासू र सानो सालोको निर्मम हत्या गरे। प्रहरीका अनुसार, घटनाको पछाडि’अन्तरजातीय विवाहको अस्वीकृति र पारिवारिक झगडा मुख्य कारण बनेको देखिएको छ।
राजेन्द्र र मनिषा गिरिको करिब ९ महिनाअघि प्रेम विवाह भएको थियो। सामाजिक दृष्टिले फरक जातमा परेका उनीहरूको सम्बन्ध परिवारको आँखा झेल्दै अघि बढेको थियो। विवाहपछि परिवारले छोरीलाई स्वीकार नगरेपछि मनिषा पति राजेन्द्रसँग नभई आफ्नै घरमै बस्न थालेकी थिइन्।
श्रीमानले आफ्नी श्रीमतीलाई ससुरालीबाट लैजान प्रयास गरेपछि घटना चर्किएको बताइएको छ। प्रहरीका अनुसार ससुराली पक्षले राजेन्द्रलाई लैजान नदिने अडान राखेपछि विवादले हिंसात्मक रूप लिएको थियो।
यो घटना केवल एक घरेलु विवाद मात्र होइन गहिरो सामाजिक संरचनासँग गाँसिएको दुःखान्त पनि हो। अन्तरजातीय प्रेमलाई आज पनि समाजको धेरै हिस्साले अस्वीकार गर्छ, र यही अस्वीकृति कहिलेकाहीं यति क्रूर बनिदिन्छ कि ज्यानै लिने निर्णयसम्म पुगिन्छ।
हत्या पश्चात राजेन्द्रले आफैँ प्रहरी कन्ट्रोलमा फोन गरी भनिरहेका थिए, “मैले मान्छे मारेँ, मलाई लिन आउनू।
पेटमा तीन स्थानमा छुरा प्रहार लागेको गम्भीर घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।
उनको बयान अनुसार, ससुराली पक्षबाट छुरा देखाएर आक्रमण भएपछि आफुले छुरा खोसेर आक्रोशमा हत्या गरेको बताएका छन्। प्रहरीका अनुसार अझै अनुसन्धान चलिरहेको छ र घटनाको सम्पूर्ण यथार्थ खुल्न बाँकी छ।
जब समाजले प्रेमलाई स्वीकृति दिन सक्दैन, अनि त्यो प्रेम प्रतिरोधको भित्री आगोमा पोलिन थाल्छ, तब एउटै रातमा चार जीवन लिलिन सक्छन्। आज यो घटना केवल एक परिवारको हत्या होइन, समाजमा बिउँतिरहेको जातीय असहिष्णुता र विभाजनको चरम परिणाम हो।
हामी कुन समाजमा बाँचिरहेका छौं जहाँ प्रेमले जन्म दिने विवाह, अस्वीकारका कारण नरसंहारमा परिणत हुन्छ? कता चुकिरहेका छौं हामी? कानुन त छ, अधिकार पनि, तर व्यवहारमा तिनको पहुँच छैन। हाम्रो गाउँ, समाज, परिवार अझै ‘जात’ भन्ने जालोमा अल्झिएको छ।
अन्तरजातीय विवाह कानुनतः मान्य भए पनि सामाजिक अस्वीकार अझै ठूलो चुनौती हो। विशेष गरी ग्रामीण क्षेत्रका युवायुवतीहरू प्रेम र आत्मनिर्णयको अधिकारका लागि लडिरहेछन्, तर अझै पनि समाजले उनीहरूलाई घेरा हालिरहेको छ।
समाजमा चेतना फैलाउनु जरुरी छ। केवल कानुनी अधिकारको कुरा गरेर पुग्दैन, व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक छ।शिक्षा प्रणालीले विविधता स्वीकार्ने मनोवृत्तिलाई प्रोत्साहन गर्नुपर्छ।