
साउन १३, २०८२।
महोत्तरी, भरतपुर – मधेसको गाउँमा एक साँघुरो सपना अहिले विशाल लक्ष्यमा रूपान्तरण हुँदैछ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लक्ष्मिनियाँ जंगल पार गरेर पुगिने गौशाला नगरपालिका- ११ भरतपुरखोर गाउँ अहिले महिला क्रिकेट खेलको नयाँ थलो बन्दै गएको छ। यहाँ नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोको प्रेरणाले २९ बालिकाको टोलीले दिनहुँ अभ्यास गरिरहेका छन्।
‘गाउँमै पूजा बन्ने’ सपना बोकेर विद्यालयको मैदानमा ब्याट र बलसहित उभिएका यी बालिकाहरूको कथा शून्यबाट शुरु भएको हो। जहाँ पहिले खेल खेल्ने चाहनालाई पनि समाजले हाँसोको रूपमा लिने गर्थ्यो आज त्यही समाजले अब प्रशंसा र सहयोग गर्न थालेको छ।
पूजा महतो आफैँ दिल्लीको झुपडीबाट अन्तर्राष्ट्रिय क्रिकेटसम्मको यात्रा तय गरेकी एक प्रेरणादायी पात्र हुन्। अहिले उनी काठमाडौंमा अभ्यास गर्छिन् तर नियमित रूपमा गाउँ आइ बालिकालाई प्रशिक्षण दिन्छिन्। उनी नआउँदा स्थानीय क्रिकेटर नवीन सिंह निःशुल्क प्रशिक्षण दिन्छन्।
उनकै प्रेरणाले कक्षा ५ मा पढ्दै गरेकी ९ वर्षीया करिणा मण्डल खाली खुट्टा मैदानमा अभ्यास गर्न पुग्छिन्। ‘क्रिकेट खेलाडी बनेर आमाबुवाको नाम राख्नेछु’ भन्ने करिणाको सपना सिङ्गो मधेसको नयाँ सम्भावना बन्दै छ।
मधेसको ग्रामीण समाजमा छोरीको स्कुल जानु नै ठूलो कुरा हो। खेलकुद त टाढाको कुरा। तर पूजा महतोको सफलता पछि बालविवाह, दाइजो, र बोक्सी जस्ता कुरीतिबाट गाँजिएको समाजमा छोरीहरू क्रिकेट खेल्दै आफ्नै भविष्य कोर्न लागेका छन्।
क्रिकेटर बन्ने सपना देखिरहेकी १७ वर्षीया कल्पना पासमान दलित समुदायबाट आएकी हुन्। उनी भन्छिन्, अब सबै दुःख भुलेर खेलाडी बन्नेछु। यिनै सपना हुन् जसले गाउँको सामाजिक सोचलाई परिवर्तन गर्न थालेको छ।
यस टोलीकी कप्तान सुजिता शर्मा गाउँकै जनता माविमा कक्षा ९ मा पढ्छिन्। उनी भन्छिन्, पहिले के गर्ने भन्ने थाहा थिएन पूजा दिदीको सफलता देखेपछि मैले पनि सपना देख्न थाले। अभ्यासका लागि उनी दिनको ४ घण्टा खर्च गर्छिन्।
यद्यपि खेल मैदान, उपकरण, पोषणयुक्त आहार, प्रशिक्षकको अभावले उनीहरूको अभ्यासलाई निरन्तर चुनौती दिइरहेको छ। स्थानीय सरकार र समुदायले सक्दो प्रयास गरिरहेको भए पनि सुविधाहरू अझै पर्याप्त छैनन्।
वरुण साह (फुटबल), नवीन महतो (क्रिकेट) र शिक्षक राम बेचन सदा (मुसहर) जस्ता स्थानीय युवाहरूले खेलकुदलाई गाउँको मुख्य धार बनाउँदै लगेका छन्। राम बेचनले त आफ्ना ट्युसनका बालिकाहरूलाई क्रिकेट टिम बनाएर प्रशिक्षणको सुरुवात गरिदिएका थिए।
गाउँमा ३ महिनादेखि महिला क्रिकेट टिम बनेको छ, शिक्षक राम बेचन भन्छन्, पूजाको उदाहरणले हामी सबैलाई हौस्याएको छ। फुटबलर वरुण साह भन्छन्, पहिले सानो जमातले मात्रै खेल्थे, अहिले गाउँलेहरू नै क्रिकेट हेर्न र समर्थन गर्न थालिसकेका छन्।
गौशाला नगरपालिकाले क्रिकेटर पूजालाई मानार्थ खेल अधिकृत नियुक्त गरेको छ। प्रवक्ता रामप्रित महतो भन्छन्, खेलमैदान बनाउन संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं। स्थानीय वडाले हालै मैदानमा लाइटको व्यवस्था गरेर रातिको अभ्याससमेत सम्भव बनाएको छ।
पूजा महतो भन्छिन्, मलाई हेरेर अभ्यास गर्ने बहिनीहरूलाई देख्दा आफ्नै संघर्ष सम्झन्छु। सानो झुपडीबाट सुरु गरेको यात्रा आज देशको प्रतिनिधित्व गर्न सक्ने बन्यो भने, किन यिनले सक्दैनन् ?
उनले जोड दिन्छिन्, पढाइ र खेल एकसाथ अगाडि बढ्नुपर्छ। खेल जीवनभरिका लागि नहुन सक्छ पढाइ भने जीवनभर काम लाग्छ, उनको भनाइ छ।
उनको सपना छ आफ्नो गाउँबाट दर्जनौं पूजा महतो जन्मुन्, जसले देशको नाम अन्तर्राष्ट्रिय रंगमञ्चमा चम्काउन सकून्।