Headlines

नेपाल फेरि एसिया च्याम्पियन: सिंगापुरविरुद्ध २ विकेटले विजयी

नेपाल फेरि एसिया च्याम्पियन, सिंगापुरविरुद्ध २ विकेटले विजयी भएको छ

असार २१, २०८२  काठमाडौं दैनिक संवाददाता

क्वालालम्पुर,मलेसिया – नेपालको यू–१६ क्रिकेट टिमले एसिसी यु–१६ इस्ट जोन कप २०२५ को उपाधि जित्दै फेरि एक पटक एसियाली क्रिकेटमा आफ्नो प्रभुत्व देखाएको छ। मलेसियाको युकेएम ओभलमा सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य सहज देखिए पनि नेपालको इनिङ भने धैर्य र संघर्षको कथा बन्यो। नेपालले २९ ओभरमै लक्ष्य भेट्टाए पनि ८ विकेट गुमाउनु पर्‍यो। शुरुआती तीन विकेट चाँडै गुमाएको नेपालका लागि मिडल अर्डर पनि धराशायी देखिएको थियो। तर अन्तिम समयमा जोय थापा र अभय यादवको संयमित ब्याटिङले नेपाललाई जीतको नजिक पुर्‍यायो।

नेपालका ओपनर परिमार्जन यादव (१३) र शिवांश बजगाईं (२०) रनमै आउट भएपछि, रौनक श्रीवास्तव रन नबनाई पेभेलियन फर्किए। त्यसपछि प्रसिद्ध जैशी (१७), सुगम बुढाथोकी (१), शुभम खनाल (१९), सचिन णट्ट (१), र कप्तान विपिन प्रसाद शर्मा (०) पनि लगातार आउट हुँदा नेपाल संकटमा परेको थियो।

८ विकेट गुमाएर ९२ रन बनाउँदा लाग्थ्यो, नेपाल अब गुम्ने अवस्थामा छ। तर त्यही बेला जोय थापा (२४) र अभय यादव (१०) ले संयम राख्दै आवश्यक रन जोड्दै नेपाललाई दुई विकेटको रोमाञ्चक जित दिलाए।

नेपालको जितको आधार भने बलिङ नै रह्यो। पहिले टस जितेर ब्याटिङ रोजेको सिंगापुरको पारीलाई नेपालले ४०.५ ओभरमै ११३ रनमा समेट्यो। सिंगापुरका लागि रोहन अस्टिनले २३ रन, कप्तान रियान नायकले १५ रन, वेदान्स गुप्ताले १२ र आकाश तेजाले १० रन मात्र बनाउन सके।

नेपालका सुशील बहादुर रावल र अभय यादव ले समान ३ विकेट लिए। शुभम खनालले २ विकेट र कप्तान विपिन प्रसाद शर्माले १ विकेट हात पार्दै सिंगापुरलाई पूर्ण दबाबमा राखे।

नेपालले यसअघि सेमिफाइनलमा घरेलु टोली मलेसियालाई हराएर फाइनल यात्रा तय गरेको थियो।
सिंगापुरले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँग भिड्न पुगेको थियो। दुई टोली एउटै समूहमा पनि परेका थिए। नेपालले समूह चरणमै सिंगापुरलाई ६ विकेटले हराएको थियो।

गत संस्करणको फाइनलमा पनि नेपाल विजयी भएको थियो, जसमा मलेसियालाई २२१ रनले पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि अपराजित रहँदै नेपालले उपाधि रक्षा गरेको छ ।

नेपालको यु–१६ टिमले देखाएको प्रदर्शन भविष्यमा नेपाली क्रिकेटको उज्यालो संकेत हो। टिमले देखाएको लचिलोपन, युवा खेलाडीहरूको आत्मविश्वास र दबाबमा समेत संयमता राख्ने क्षमता प्रशंसायोग्य छ।

यस उपाधिले नेपाली क्रिकेटलाई केवल अर्को ट्रफी मात्रै होइन, अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ पुस्ताको बलियो उपस्थिति पनि पुष्टि गरेको देशलाई चिनाएको छ।

एसिसी यु–१६ इस्ट जोन कप २०२५ का च्याम्पियन नेपाली टिमलाई हार्दिक बधाइ! 🇳🇵

Leave a Reply

Your email address will not be published. Required fields are marked *