काठमाडौं, साउन ८ – विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन १३ सदस्यीय नेपाली टोली अजरबैजानको राजधानी बाकु प्रस्थान गरेको छ। साउन ८ देखि १२ गतेसम्म बाकुमा आयोजना हुने प्रतियोगितामा नेपाली टोलीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछ।
टोलीमा सात जना खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, अफिसियल र निर्णायक रहेका छन्। पुरुष खेलाडीमा रोचक भट्टराई (७० केजी), विनोद महर्जन (७५ केजी), सुदर्शन खतिवडा (८५ केजी), सागर विष्ट (८० केजी) र रमेश खड्गी (६५ केजी) छन् भने महिला खेलाडीमा पूजा खड्का (४२ केजी) र बबिता कार्की (५५ केजी) छन्।
नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जन प्रशिक्षकका रूपमा रहेका छन्। टोली व्यवस्थापनमा रजिम शाही छन् भने अफिसियलमा सन्देश महर्जन र कुमारध्वज लामा रहेका छन्। निर्णायकका रूपमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ पनि टोलीमा समावेश छन्।
प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपाली मार्सल आर्ट्स खेलाडीहरूको क्षमता प्रदर्शन हुने विश्वास गरिएको छ। टोलीको सफलताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रले शुभकामना व्यक्त गरेका छन्।