साउन १८, २०८२।
काठमाडौं – नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको चर्चित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक सफलता हासिल गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जित्न सफल भएका छन्।
शनिबार राति नोएडामा सम्पन्न फाइटमा उनले भारतका डिफेन्डिङ च्याम्पियन चोङरेङ कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भए।
ढाँटको यो जित नेपालको एमएमए इतिहासमै एउटा ठूलो मोडको रूपमा लिइएको छ। प्रारम्भिक दुई राउन्डमा कडा प्रतिस्पर्धा भए पनि तेस्रो राउन्ड सुरु भएको ५४ सेकेन्डमै उनले कडा मुक्काबाजी प्रहार गर्दै कोरेनलाई नकआउट गरे।
ढाँटको यो विजयसँगै नेपाली युवा खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्दैछन् भन्ने संकेत मिलेको छ। उनको जितले नेपाली एमएमए खेलाडीहरुप्रति आत्मविश्वास थपेको छ भने आगामी दिनमा नेपालमा एमएमए खेलको विकासमा पनि सघाउ पुर्याउने विश्वास गरिएको छ।
रविन्द्र ढाँटका समर्थकहरुले सामाजिक सञ्जालमा “देशको गौरव”, “नेपाली टाइगर” जस्ता शब्दहरु प्रयोग गर्दै खुसी साटासाट गरिरहेका छन्। फाइट पछि सञ्चारमाध्यमसँग बोल्दै ढाँटले भने नेपालको झण्डा म्याटमा फहराउन पाउँदा गर्व लागेको छ। यो मेरो मात्र होइन, सम्पूर्ण नेपालीको जित हो।
फाइटको भिडियो क्लिपहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् जहाँ ढाँटको निर्णायक प्रहारले कोरेनलाई पछारिएको दृश्य देख्न सकिन्छ।