साउन १८, २०८२।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ हेटौंडामा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएकी छन्। मकवानपुरको हेटौंडामा सञ्चारिका समूह मकवानपुरले आयोजना गरेको देश चिनाउनेसँग
“हाम्रो चिनजान” विषयक कार्यक्रममा उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो।
कार्यक्रममा सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ (निशा) हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरण जोशीले साम्बालाई सम्मानपत्र प्रदान गरे।
सावित्रा भण्डारी हाल अष्ट्रेलियाली लिग खेल्ने तयारीमा छिन्। उनले यसअघि भारत, इजरायल हुँदै फ्रान्ससम्म अन्तर्राष्ट्रिय क्लबमा प्रतिनिधित्व गरिसकेकी छन्। फ्रान्सको ईए गुइङगाम फेमिनिन्स क्लबमा दुई सिजन खेलेकी साम्बा हालै फ्रान्सबाट बिदाइ भएर न्यूजिल्याण्डको एक क्लबसँग आबद्ध भएकी छिन्। उनी नेपाली महिला फुटबल इतिहासकी सबैभन्दा सफल खेलाडीमध्ये एक मानिन्छिन्।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख स्किम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीका लामा र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतको उपस्थिति थियो।
साम्बाले सम्मानपछि दिएको छोटो मन्तव्यमा भनिन्, “म नेपाली महिलाहरूको प्रेरणाको स्रोत बन्न चाहन्छु। यो सम्मान मेरो मात्र होइन, समग्र नेपाली महिला फुटबलको सम्मान हो।