सन्दीप लामिछानेको ठुलो सफलता टि–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाली क्रिकेटको चम्किलो उपस्थिति असार १२, २०८२ काठमाडौँ दैनिक
नेपाली क्रिकेट प्रेमीहरूका लागि गर्व र खुसीको खबर छ। राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) द्वारा प्रकाशित नयाँ टि–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा ठूलो छलाङ मारेका छन्। उनले यसपटक ४१ स्थानको सुधार गर्दै ७५औं स्थानमा आफ्नो उपस्थिति जनाएका छन्।
यो उपलब्धि केवल व्यक्तिगत मात्र नभई नेपाली क्रिकेटको समग्र उचाइको प्रतिबिम्ब पनि हो, जहाँ सीमित अवसर र चुनौतीपूर्ण वातावरणबीच नेपाली खेलाडीहरू विश्व क्रिकेटमा चिनिँदै गएका छन्।
सन्दीप लामिछानेको पछिल्लो प्रदर्शनले धेरैको ध्यान खिचेको छ। मैदानमा फर्केपछि उनले खेलेका खेलहरूमा बलिङमा निरन्तरता र बलियो देखिएको थियो। अन्तर्राष्ट्रिय स्तरमा लामो समयको अन्तरालपछि पुन: वरीयतामा यति ठूलो छलाङ मार्नु सन्दीपका लागि मात्र नभई सम्पूर्ण नेपाली टिमको मनोबल बढाउने महत्त्वपूर्ण उपलब्धि हो।
सन्दीप मात्र होइन, ललितनारायण राजवंशीले पनि २९ स्थान उक्लँदै ५४औं स्थानमा स्थान बनाएका छन्। उनी आफ्नो स्थिर बलिङ लय र विविधताका कारण नेपाली टिमको भरपर्दो खेलाडी बन्दै गएका छन्।
दीपेन्द्रसिंह ऐरी, जो बलिङ वरीयतामा १ स्थान पछाडि सरेर ८१औं स्थानमा पुगेका छन् यद्यपि उनको बहुपक्षीय योगदान टिमका लागि महत्त्वपूर्ण रहेको छ ।
क्रिकेट खेलमा ब्याटिङ वरीयता पनि महत्त्वपूर्ण मानिन्छ। यस सन्दर्भमा कुशल भुर्तेलले १० स्थान सुधार गर्दै ८३औं स्थानमा उक्लिएका छन्। ओपनिङ ब्याट्सम्यानको रूपमा कुशलले हालैका खेलहरूमा दिएको आक्रामक सुरुवातले उनी वरीयता तालिकामा माथि पुग्न सफल भएका हुन्।
त्यस्तै अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी अझै पनि तेस्रो स्थानमा कायम छन्। यो नेपाली क्रिकेट इतिहासको एउटा उल्लेखनीय उपलब्धि हो। अलराउन्डरका रूपमा उनी बलिङ, ब्याटिङ दुवैमा निरन्तरता दिन सक्ने दुर्लभ प्रतिभा हुन्।
कुशल भुर्तेल: अलराउन्डर वरीयतामा पनि ६ स्थान माथि उक्लिँदै ३२औं स्थानमा पुगेका छन्।
गुलशन झा ब्याटिङमा निरन्तर प्रदर्शन गर्दै ६१औं स्थानमा पुग्न सफल भएका छन्।
ICC वरीयता प्रणालीको प्रभाव:
ICC को वरीयता प्रणाली खेलाडीको प्रदर्शन, विपक्षीको स्तर, खेलको परिणाम लगायतका आधारमा गणना गरिन्छ। सन्दीप, ललित, दीपेन्द्र र कुशलहरू जस्ता खेलाडीहरूको वरीयता सुधार हुनु नेपाली क्रिकेट टिमले पछिल्लो समय गरेका कडा मेहनत,अभ्यास र निरन्तरतालाई प्रमाणित गर्छ।
नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय टुर्नामेन्टहरूमा उल्लेखनीय प्रदर्शन गर्दै आइरहेको छ। यसै महिनाको सुरुवातमा सम्पन्न एकदिवसीय र टि–२० सिरिजमा नेपालले समान स्तरका प्रतिस्पर्धीमाथि लिएको जितले पनि विश्व क्रिकेट समुदायमा नेपालको छवि बलियो बनाएको छ।
सन्दीप लामिछाने लगायत अन्य नेपाली खेलाडीहरूको वरीयता सुधार केवल व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाली क्रिकेटको समग्र क्षमता, समर्पण र उचाइको प्रतीक हो।
यो अवसरमा क्रिकेट संघ, प्रशिक्षकहरू, र सम्पूर्ण टिमलाई बधाई दिनैपर्छ।
अबको चुनौती भनेको यो लयलाई कायम राख्दै निरन्तर सुधार र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई अझ प्रभावशाली उपस्थितिको पुर्याउन तयारी गर्नु हो।
स्रोत: ICC Ranking Updates (June 25, 2025)
📰 काठमाडौँ दैनिक, प्रयास लामा