साउन २५, २०८२।
काठमाडौं – अस्ट्रेलियामा बुधबारदेखि सुरु हुने टप इण्ड टी-२० सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्ने होबार्ट हरिकेन्स एकेडेमीको १४ सदस्यीय टोली सार्वजनिक भएको छ।
शनिवार घोषणा गरिएको टोलीमा अष्ट्रेलियन राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका तीब्र गतिका बलर बिली स्ट्यानलेक पनि सामेल छन्। साथै बिग बास लिग (BBL) र अष्ट्रेलियाका विभिन्न उमेर समूहका लागि खेलिसकेका प्रतिभावान खेलाडीहरू पनि टोलीमा रहेका छन्।
नेपालले यो सिरिजको चौथो खेलमा भदौ ३ गते (अगस्ट १९) होबार्टसँग भिड्नेछ। यसअघि नेपालले साउन ३० गते नर्दन टेरिटोरी स्ट्राइकसँग, साउन ३१ गते बंगलादेश ‘ए’सँग, भदौ २ गते मेलवर्न स्टार एकेडेमीसँग र भदौ ४ गते मेलवर्न रेनेगेड्स एकेडेमीसँग खेल्ने कार्यक्रम छ। समूह चरणको अन्तिम खेलमा भदौ ६ गते नेपालले पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।
होबार्ट हरिकेन्स एकेडेमी टोली:
मार्कस बीन, गेब बेल, इयान कार्लिसल, ज्याक कर्टन, टम ड्वायर, ब्राड होप, राफ म्याकमिलन, विल प्रेस्टविज, निवेथन राधाकृष्णन, लुइस स्मिथ, बिली स्ट्यानलेक, चार्ली वाकिम, टिम वार्ड, म्याक राइट।
एनटीको आयोजनामा हुने यस टप इण्ड सिरिजमा ११ टोली सहभागी छन्। नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान अन्तर्राष्ट्रिय टोलीका रूपमा सहभागी हुनेछन्।
BBL का होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलवर्न स्टार र मेलवर्न रेनेगेड्सका एकेडेमी टोलीहरू, साथै दुई स्थानीय टिम पनि रहनेछन्।
प्रतियोगिता पाँच विभिन्न स्थानीय मैदानमा खेलिनेछ। उद्घाटन खेल पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’बीच हुनेछ। लिग चरणपछि शीर्ष ४ टोलीबीच भदौ ८ गते सेमिफाइनल र फाइनल हुनेछ।