नेपालमा पहिलोपटक महिला भलिबलमा अक्सन” पोखरा निन्जाजको सर्वाधिक खर्च, मधेश युनाइटेडको न्यून रहेको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलले फ्रेन्चाइज लिग संरचनामा प्रवेश गरिसकेको छ। महिला भलिबल लिगको दोस्रो संस्करणअन्तर्गत पहिलोपटक खेलाडी अक्सन प्रणाली लागू गरिएको छ। आयोजक इन्फिनिटी ड्रिम्स र नेपाल भलिबल संघको सातवर्षे सहकार्यमा संचालन भइरहेको लिगको अक्सन गत शुक्रबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न भयो।
अक्सनमा सहभागी ६ फ्रेन्चाइज टिमहरूमध्ये पोखरा निन्जाजले सर्वाधिक ६ लाख २९ हजार ७५० रुपैयाँ खर्च गरेर टिम निर्माण गर्यो। त्यसपछि ललितपुर क्विन्सले ६ लाख २७ हजार २५०, लुम्बिनी लाभा र काठमाडौं स्पाइकर्सले समान ६ लाख १२ हजार २५०, कर्णाली यश्विसले ५ लाख ८९ हजार ७५० र मधेश युनाइटेडले सबैभन्दा कम ५ लाख ८७ हजार ५०० रुपैयाँ खर्च गरे।
अक्सनमा ६९ खेलाडी सहभागी थिए, जसलाई तीन श्रेणी (A, B, C) मा वर्गीकरण गरिएको थियो।
A श्रेणी: बेस प्राइस १ लाख १५ हजार – १ लाख ३२ हजार ५ सय
B श्रेणी: १ लाख – १ लाख १५ हजार
C श्रेणी: ५० हजार – ५७ हजार ५ सय
A श्रेणीमा रहेका प्रमुख खेलाडीहरूमध्ये कामना विष्ट, पुनम चन्द, संगम महतो, साफिया पुन, कविता भट्ट, आरती चन्द, शान्तिकला तामाङ आदि प्रमुख थिए। कामना विष्टको पहिलो अक्सनबाटै लुम्बिनीले लक्की ड्र मार्फत अनुबन्ध गर्यो। अन्य खेलाडीहरू पनि टिमहरूबीचको बोली र ड्र प्रणालीद्वारा वितरण भए।
अक्सनमा सबैभन्दा रोचक प्रतिस्पर्धा ओपन हिटर ईभीसीकी मीना सुनारमाथि देखिएको थियो, जसमा पाँच टिमहरूले समान अधिकतम मूल्य राखेपछि पोखरा निन्जाजले ड्र मार्फत उनलाई अनुबन्ध गर्यो।
प्रत्येक टिमले ७ खेलाडी अनुबन्ध गरिसकेका छन्, अब उनीहरूले ३ विदेशी र १ ट्यालेन्ट हन्टबाट खेलाडी थप गर्न पाउनेछन्। यस वर्षको लिग भदौ २० देखि २८ सम्म पोखरामा आयोजना हुनेछ। गत वर्ष भने लिग काठमाडौंमा भएको थियो।
यो संस्करणमा पनि ६ टिमहरू सहभागी छन्:
कर्णाली यश्विस (मार्की: सुमित्रा रेग्मी, प्रशिक्षक: कुमार राई)
ललितपुर क्विन्स (मार्की: सलिना श्रेष्ठ, प्रशिक्षक: उत्सव खड्का)
पोखरा निन्जाज (मार्की: प्रगति नाथ, प्रशिक्षक: रुपेशकुमार विष्ट)
काठमाडौं स्पाइकर्स (मार्की: उषा भण्डारी, प्रशिक्षक: लोकेश बुढा)
लुम्बिनी लाभा (मार्की: अरुणा शाही, प्रशिक्षक: भरत यादव)
मधेश युनाइटेड (मार्की: निरुता ठगुन्ना, प्रशिक्षक: कोपिला उप्रेती र यस लिगसँग चर्चित कलाकारहरूको संलग्नता पनि देखिएको छ।कर्णाली टिमले राजेश हमाललाई टिम एम्बासडर बनाएको छ।
नीति शाह मधेश युनाइटेडसँग, सनिशा भट्टराई पोखरा निन्जाजसँग रहेको छ ।
आयोजक इन्फिनिटीकी सीईओ स्नेभी चापागाईंका अनुसार अक्सन प्रणालीले नेपाली भलिबललाई व्यावसायिक दिशातर्फ उन्मुख गराउनेछ।