नयाँपन मिनिस्कर्ट लगाएर अङ्ग्रेजी बोल्दैमा हुदैन
ज्ञानेन्द्र शाहीको अभिव्यक्ति फेरि विवादमा
काठमाडौं, असार १२ , उपसना पौडेल
राजनीतिक टिप्पणीका लागि विवादमा आउने बानी परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पुनः एकपटक चर्चामा छन् । यसपटक उनको व्यङ्ग्यको निशानामा परेकी छिन् रास्वपाका सांसद सुमना श्रेष्ठ । सार्वजनिक कार्यक्रममा उनले दिएको मन्तव्यले सामाजिक सञ्जालदेखि संसदसम्म बहसको घेरो बनाएको छ ।
व्यङ्ग्यात्मक टिप्पणी “मिनिस्कर्ट लगाएर नयाँपन देखिँदैन”
एक सार्वजनिक कार्यक्रममा बोल्दै सांसद शाहीले आधुनिकता र नयाँपनको नाममा नेपाली पहिचान मेटिने क्रमप्रति असन्तुष्टि जनाए । उनले भने नयाँ बन्न अङ्ग्रेजी बोल्नुपर्छ भन्ने छैन । मिनिस्कर्ट लगाएर हिँड्दैमा नयाँपन देखिँदैन । हामी नेपाली हौं नेपाली भाषामा बोल्दा हाम्रो गौरव झल्किन्छ ।
उनको यो भनाइ स्पष्ट रूपमा कुनै सांसदलाई लक्षित नगरेको भए पनि राजनीतिक वृत्तमा र सामाजिक सञ्जालमा यो टिप्पणी सुमना श्रेष्ठप्रति हो भन्ने जनमानसमा बुझिएको छ ।
सांसद सुमना श्रेष्ठ प्राय अङ्ग्रेजी भाषामा बोल्ने खुलेको तथा पश्चिमी पोशाकमा देखिने नेतृको रूपमा चिनिन्छिन् । उनी संसद तथा मिडियामा अङ्ग्रेजी भाषाको सहज प्रयोग गर्ने नेतृ भएकाले सामाजिक सञ्जालमा विगतमा पनि ट्रोलको सिकार बनिसकेकी छन् ।
शाहीको टिप्पणीले यसै सन्दर्भलाई व्यङ्ग्य बनाएको छ । धेरैले यसलाई व्यङ्ग्य रूपमा बुझेका छन् भने केहीले यसलाई महिला नेतृहरूको पहिरन स्वतन्त्रतामा हस्तक्षेपको रूपमा व्याख्या गरेका छन् ।
सांसद शाही आफैंले अघिल्लो वर्ष संसदमा बोलेको अङ्ग्रेजीले उनलाई आलोचनाको केन्द्रमा पुर्याएको थियो । संसदमा उनको भाषणको अंशहरू सामाजिक सञ्जालमा भाइरल बनेका थिए । त्यतिबेला उनी नेपाली शैलीको अङ्ग्रेजी उच्चारणका कारण चर्चा र व्यङ्ग्यका पात्र बनेका थिए ।
त्यसैको सन्दर्भ जोड्दै कतिपयले अहिलेको अभिव्यक्तिलाई तिनै पुराना आलोचनाको रिस पोख्ने प्रयास पनि ठानेका छन्।
सांस्कृतिक पहिचान र समसामयिक सोचको द्वन्द्व
यो घटनाले नेपाली समाजमा जारी सांस्कृतिक पहिचान र आधुनिक सोचको द्वन्द्वलाई फेरि उजागर गरिदिएको छ । एकातर्फ परम्परागत मूल्य, भाषा र संस्कारको जगेर्ना गर्नुपर्ने आवाज छ भने अर्कातर्फ व्यक्तिगत स्वतन्त्रता र बहुसांस्कृतिक समाजतर्फ अघि बढ्नुपर्ने मत पनि उतिकै छ ।
शाहीले भनेका छन् हामीले आफ्नै भाषा र पहिचानमा गौरव गर्नु पर्छ । नयाँपन देखाउन अरूको संस्कारको अनुकरण गर्नु जरुरी छैन ।
तर यस्ता टिप्पणीले खासगरी महिला नेतृहरूको पहिरन र कार्यशैलीमाथि अनावश्यक टिप्पणी भएको भन्दै धेरैले आलोचना पनि गरेका छन् ।
यो विषयले सामाजिक सञ्जालमा तीव्र बहस जन्माएको छ । केहीले शाहीको भनाइलाई समर्थन गर्दै नेपाली परम्पराको जगेर्ना गर्नुपर्ने बताएका छन् । अर्कोतर्फ कतिपयले व्यक्तिगत पहिरन भाषा प्रयोग र जीवनशैलीमा टिप्पणी गर्नु गैरजिम्मेवार भएको भन्दै आक्रोश पोखेका छन् ।
एक ट्वीटर प्रयोगकर्ताले लेखे नेतृ हुनु भनेको केवल धोती-कुरता लगाएर बस्नु होइन । सुमना श्रेष्ठ जस्तो नेतृले आजको पुस्ताको प्रतिनिधित्व गर्छिन् ।
अर्का प्रयोगकर्ताको भनाइ थियो राजनीतिक बहस मुद्दामा होस् पहिरन र भाषामा होइन ।
सांसद सुमना श्रेष्ठले भने यो विषयमा औपचारिक प्रतिक्रिया दिएकी छैनन् । यद्यपि अघिल्ला अन्तरवार्ताहरूमा उनले व्यक्तिगत स्वतन्त्रताको अधिकार बहु-सांस्कृतिक मूल्यहरूको सम्मान र महिला नेतृहरूको भूमिकाबारे प्रष्ट धारणा राख्दै आएकी छन् ।
यही घटनामा विभिन्न दलका नेताहरूको फरक फरक धारणा देखिएको छ । केही पुराना नेताहरूले शाहीको भनाइलाई सही भनेका छन् भने युवा पुस्ताका नेताहरूले यसलाई व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप भएको बताएका छन् ।
एक महिला सांसदले भनिन् पुरुष सांसदहरू महिला नेतृको पहिरनमाथि टिप्पणी गर्नेलाई समयअनुसार सोच्न सिक्न जरुरी छ । संसद विचार आदानप्रदान गर्ने स्थान हो पहिरन परीक्षण गर्ने ठाउँ होइन ।
अभिव्यक्तिको स्वतन्त्रता बनाम सामाजिक उत्तरदायित्व
सांसद शाहीको अभिव्यक्तिले यो प्रश्न उब्जाएको छ ।
अभिव्यक्तिको स्वतन्त्रता कतिसम्म हो ? सार्वजनिक व्यक्तित्व
भएकाहरूले कसरी आफ्नो शब्द चयन गर्ने ?
शाहीले बोलेको शब्द स्वतन्त्र विचार अन्तर्गत पर्न सक्छ । तर सामाजिक सन्देश लिंग समानता र समावेशितामा विश्वास राख्ने समाजमा यसले नकारात्मक प्रभाव पार्न सक्छ भन्ने चासो पनि उठाइएको छ ।
यस प्रकरणले एकपटक फेरि देखाएको छ कि नेपाली समाज अझै पनि पहिरन भाषा र पहिचानको विषयमा गहिरो ध्रुवीकरणमा छ । राजनीतिक नेताहरूले यदि साँच्चै नयाँ समाज निर्माण गर्न चाहन्छन् भने व्यक्तिगत स्वतन्त्रता, विविधता र बहसको मर्यादालाई सम्मान गर्नुपर्छ ।
सांसद शाहीको टिप्पणीले सामाजिक सतहमा रहेको विभाजनलाई देखाएको छ जसमा कतिपय नेपाली अझै परम्परा र संस्कारको खोलभित्र सुरक्षित महसुस गर्छन् भने अर्कोतर्फ नयाँ पुस्ता खुलेर बाँच्न चाहन्छ, बोल्न चाहन्छ, देखिन चाहन्छ ।
यदि हामीले यसलाई सहि दिशा दिन सक्यो भने सामाजिक समावेशीकरण, लिङ्ग समानता, र सम्मानपूर्वक बहस गर्ने संस्कार विकास गर्न यो बहसले राम्रो अवसर दिन सक्छ।