Headlines

दुबईमा दुईतले बस हाँक्ने शान्तिलाई युएई सरकारको सम्मान

 दुईतले बस हाँक्ने नेपाली महिला शान्ति भण्डारीलाई अन्तर्राष्ट्रिय सम्मान ‘एक्सिलेन्स इन टुरिजम’ अवार्ड प्राप्त गर्दै विश्व सामु नेपाल र नेपालीलाई चिनाएकी छिन् ।

असार १८, २०८२। उपसना पौडेल

युएई- विदेशी भूमिमा बसेर नेपाल र नेपालीलाई चिनाउने थुप्रै उदाहरणमध्ये एक बनिन् शान्ति भण्डारी।

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा दुईतले बस चलाउने पेशामा संलग्न शान्तिले आफ्नो संघर्ष, परिश्रम र लगनशीलता बाट अन्तर्राष्ट्रिय सम्मान हात पार्दै सबै नेपाली महिलाका लागि प्रेरणादायी पात्र बनेकी छन्।

दुबईमा आयोजित ‘एक्सलेन्स अवार्ड २०२५ कार्यक्रममा उनलाई ‘एक्सिलेन्स इन टुरिजम–ट्रेलब्लेजर अफ द इयर २०२५ अवार्ड प्रदान गरिएको हो।

दुबईस्थित चर्चित सञ्चार संस्था गल्फ न्यूज र बिङसीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विश्वभरका चार सयभन्दा बढी महिलामध्ये उत्कृष्ट प्रदर्शन गर्ने ३७ महिलालाई सम्मानित गरिएको थियो।

शान्ति भण्डारी युएईमा दुईतले बस चलाउने एकमात्र नेपाली महिला हुन् र उनी विगत १० वर्षदेखि यो व्यवसायमा सक्रिय छिन्। सन् २०१५ मा युएई गएकी शान्तिले आफ्नो काम, इमान्दारिता र प्रतिबद्धताका साथ दुबईमा यात्रुहरूको मन जितेकी छिन्।

यो अवार्ड मेरो आमाको सपना हो शान्तिको भावुक अभिव्यक्ति पुरस्कार ग्रहण गर्दै शान्तिले भनिन्, यो अवार्ड मेरा लागि केवल ट्रफी होइन यो मेरो संघर्ष, पसीना, आँसु र सहरभित्रका एकान्त क्षणहरूको प्रतीक हो।

म यो सम्मान मेरी आमालाई समर्पण गर्न चाहान्छु जसको माया, आशीर्वाद र प्रेरणा बिना म यहाँसम्म आइपुग्न सक्दिनथेँ। शान्तिको यो अभिव्यक्ति हजारौं प्रवासी नेपाली महिलाको आवाज हो जसले आफ्नो देश घरपरिवार छाडेर विदेशी भूमिमा सम्मानजनक जीवनयापनका लागि कठोर संघर्ष गरिरहेका छन् ।

दुबईको अत्याधुनिक यातायात व्यवस्था र ट्राफिक नियमनका बीच दुईतले बस हाँक्नु सामान्य कुरा होइन।
त्यो पनि एक महिला भएर अझ नेपाली नागरिक भएर यस्तो जिम्मेवारी सम्हाल्नु आफैमा साहसिक कुरा हो।

उनको संघर्षको कथा १० वर्षअघि सुरु भएको थियो जब उनी घरबाट टाढा, नयाँ संस्कार, नयाँ नियम, नयाँ भाषा र बिरानो लाग्ने सडकमा जीवनको नयाँ अध्याय सुरु गर्न युएई पुगेकी थिइन्।

दुबईको बस सेवा प्रख्यात “RTA” अन्तर्गत काम गर्ने शान्तिले दुईतले बसका नियमित रुटहरूमा सेवाहरू दिँदै आइरहेकी छिन्। बिहान सबेरैबाट मध्यरातसम्म यात्रुहरूलाई सुरक्षित, सहज र समयमै गन्तव्यमा पुर्याउने जिम्मेवारी उनले कुशलताका साथ निर्वाह गर्दै आइरहेकी छिन्।

शान्तिले दुबईको तातो गर्मी मौसम, कठिन कार्य समय, व्यस्त सडकहरू र पुरुषप्रधान देशको चुनौतीलाई सामना गर्दै आफूलाई स्थापित गरिन्। जसले उनलाई मात्र होइन सम्पूर्ण नेपाली समुदायलाई गौरव दिलाएको छ।

शान्ति भण्डारी मात्र चालक होइनन् उनी महिला सशक्तीकरणको प्रतीक हुन्। दुबईका सडकमा उनको मुस्कान यात्रुहरूका लागि सुरक्षा र आत्मीयताको संकेत हो।

‘एक्सलेन्स इन टुरिजम–२०२५’अवार्ड के हो?

यो अवार्ड हरेक वर्ष गल्फ न्यूज र बिङसीको संयुक्त आयोजनामा प्रदान गरिन्छ, जसमा पर्यटन, व्यवसाय, समाजसेवा, प्रविधि, शिक्षालगायतका क्षेत्रमा विशेष योगदान पुर्‍याउने महिलाहरूलाई छानिन्छ।

यस वर्षको पाँचौं संस्करणमा ४०० भन्दा बढी महिलाबीच प्रतिस्पर्धा भएको थियो। शान्ति भण्डारी सहित केवल ३७ जना महिलाले यो सम्मान प्राप्त गर्न सफल भए।

पर्यटन क्षेत्रमा रोजगारी गर्नाले दुबईमा सेवा प्रवाहको गुणस्तरमा सिधा असर पार्ने हुँदा शान्तिलाई ‘ट्रेलब्लेजर अफ द इयर’ शीर्षकले विशेष सम्मान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

शान्तिको यात्रा केवल व्यक्तिगत होइन यो हजारौं नेपाली महिलाहरुका लागि प्रेरणाको सन्देश हो । अवसरको खोजी जहाँ पनि गर्न सकिन्छ र कठिन परिस्थितिमा पनि संघर्ष गरेर आफूलाई प्रमाणित गर्न सकिन्छ भन्ने संदेश शान्तिले दिएकी छिन् ।

नेपालमा महिला सवारीचालक भनेपछि अझै पनि अचम्म मान्छन्। यस्ता सामाजिक मान्यताहरू तोड्दै विदेशमा आफ्नो सीप, साहस र आत्मविश्वास देखाएर शान्तिले सिङ्गो देश नेपाल र नेपाली महिलाको सामाजिक भूमिकालाई नयाँ परिभाषा दिएकी छिन्।

उनको सफलतालाई मध्यपूर्वमा रहेका नेपालीहरू, विशेषगरी महिलाहरूले एकप्रकारको जितको रूपमा लिएका छन्। विभिन्न सामाजिक सञ्जालमा शान्तिको सफलताको चर्चा र प्रशंसा व्यापक रूपमा भइरहेको छ।

प्रवासी महिला अधिकार अभियन्ता सबिता गुरुङ भन्नुहुन्छ ,

शान्तिले जुन पहिचान बनाइन् त्यो केवल एक व्यक्तिको होइन त्यो सम्पूर्ण प्रवासी महिला समुदायको प्रतिनिधित्व हो। हामी नेपाली महिलाले गर्न नसक्ने केही छैन भन्ने कुराको प्रत्यक्ष प्रमाण हुन् उनी।

 

युएईस्थित समाजशास्त्री रविन थापाले पनि शान्तिको योगदानलाई निकै महत्वपूर्ण मान्छन्।
उनी भन्छन् शान्तिको कथा यति शक्तिशाली छ कि यसले नेपाल सरकारलाई पनि सोच्न बाध्य पार्नुपर्छ । यदि प्रवासी भूमिमा एक महिला चालक सम्मानित हुन सक्छ भने किन देशमै यस्तो अवसरहरुको सिर्जना नगर्ने ?

शान्तिको सफलता यस अर्थमा पनि महत्वपूर्ण छ कि यस्तो खालको उदारहणलाई नेपाल सरकारले सम्मान गर्दै आगामी पुस्तालाई प्रेरणा दिने गरी कार्यक्रमहरू ल्याउनुपर्छ।

विदेशमा श्रम गरेर आफ्नो र देशको आर्थिक स्थिति सुदृढ पारिरहेका महिलाहरूलाई थप सुरक्षित, संगठित र प्रेरणादायी वातावरण बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

शान्ति भण्डारीको नाम अब नेपाली समुदायका लागि केवल दुईतले बस हाँक्ने चालकको रूपमा सीमित रहने छैन।
उनले देखाएको बाटो, उनीले भोगेको संघर्ष, र उनले जितेको सम्मानले हजारौं नेपाली महिलालाई नयाँ सपना देख्न, नयाँ लक्ष्य बनाउन दु:ख कष्ट र हरेक परिस्थितिको सामना गरेर निरन्तर अगाडि बढ्न प्रेरणा दिनेछ।

विदेशी भूमिमा रोजगारी र प्रवासी जीवन सोचेको जस्तो सजिलो हुँदैन अझ महिलाहरुको हकमा त झनै कठिन हुन्छ। तर ती कठिनाइहरू लाई पार गर्दै आफ्नो पहिचान निर्माण गर्नेहरू नै साँचो अर्थमा साहसी नायिका हुन् शान्ति भण्डारी ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *