काठमाडौं, साउन ५ –आकर्षक तलब, सुरक्षित श्रम बजार र सरकारी सहकार्यका कारण नेपाली युवाहरूको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या गम्भीर रूपमा देखिन थालेको छ। सोलस्थित नेपाली श्रम काउन्सिलरका अनुसार दैनिक दुई जना जति नेपाली ‘डिप्रेशन’ र ‘एङ्जाइटी’का कारण परामर्श लिन आउँछन्।
दक्षिण कोरियामा श्रमिक मृत्युका प्रमुख कारणमध्ये आत्महत्या पहिलो स्थानमा रहेको सरकारी अध्ययनहरूले देखाएका छन्। त्यसपछि कार्यक्षेत्रमा हुने दुर्घटना, सुतेकै ठाउँमा मृत्यु र सडक दुर्घटना पर्छन्।
अघिल्लो आर्थिक वर्षमा मात्र १८ जना नेपाली कामदारले कोरियामा ज्यान गुमाए भने त्यस अघिल्लो वर्ष ३२ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
सोलस्थित नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेका अनुसार धेरैजसो नेपाली कामदारहरू सहरभन्दा टाढा, एकान्त स्थानमा बसेर काम गर्न बाध्य हुन्छन्। यस्ता स्थानमा सामाजिक सम्पर्कको अभाव, पारिवारिक टाढापन, र अत्यधिक कामको दबाबका कारण आत्महत्या वा मानसिक समस्याहरू देखा परिरहेका छन्।
कतिपय कामदारहरूले बाजी (बेटिङ) जस्ता अवैध क्रियाकलापमा संलग्न भई पैसा र सम्पत्ति गुमाएका छन्, जसले गर्दा डिप्रेशन निम्तिएको राजदूत तुम्बाहाङ्फे बताउँछिन्।
कोरियामा जानुअघि ध्यान दिनुपर्ने चार मुख्य कुरा:
१. भाषा दक्षता:
ईपीएस प्रणालीमार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण गर्नु अनिवार्य छ। तर कामदारले भाषा नबुझे कामको निर्देशन बुझ्न, आफ्नो कुरा राख्न समस्या हुन्छ। “भाषा नजानेर समस्या झेल्नुपरेका धेरै उदाहरणहरू छन्,” श्रम काउन्सिलर मैयाँ कँडेल भन्छिन्। “भाषा जानेको फाइदा भनेको आफूले आफ्नो अधिकार र समस्याहरू सजिलै व्यक्त गर्न सक्नु हो।”
२. काम र वातावरणको जानकारी:
कोरियाको मौसम गर्मी पनि हुन्छ – जाडोमा माइनस १५ डिग्री, गर्मीमा ३५ डिग्रीभन्दा माथि। साथै, धेरैजसो काम सहरभन्दा टाढा एकान्त फार्महरूमा हुन्छ। यस्तो परिवेशमा काम गर्न तयार मानसिकता र शारीरिक सहनशीलता आवश्यक छ।
३. स्वास्थ्य र तन्दुरुस्ती:
कोरियामा काम कठिन हुन्छ। ‘पैसा धेरै हुन्छ’ भन्ने सोच मात्र राखेर जानु गलत हुन्छ। यहाँका साहुहरू पनि श्रमिकसँगै काम गर्छन्, त्यसैले बढी काम गर्नुपर्ने अवस्था हुन्छ, राजदूत भन्छिन्। कामदारलाई ओभरटाइममा काम गर्न दबाब दिने घटना पनि कृषि क्षेत्रमा देखिएका छन्।
४. मानसिक सुदृढता:
कोरियामा बसोबास गर्ने कामदारहरूलाई मानसिक रुपमा मजबुत बनाउनु आवश्यक छ। आर्थिक व्यवस्थापनको ज्ञान अभाव, एक्लोपन, पारिवारिक दूरी, तथा सामाजिक सम्पर्कको कमीले डिप्रेशन निम्त्याउने खतरा उच्च देखिएको छ। पैसाको दुरुपयोग र ऋणको चक्रमा फसेर पनि कतिपयले आत्महत्या गरेका छन्,काउन्सिलर कँडेल भन्छिन्।
राष्ट्रिय मानव अधिकार आयोगले सन् २०२२ मा गरेको अध्ययन अनुसार आकर्षक गन्तव्य भनिने कोरिया जस्ता देशमा पनि नेपाली कामदारहरू उच्च जोखिममा छन्। आयोगका अनुसार कोरियामा कार्यक्षेत्रमै हुने दुर्घटनाले अङ्गभङ्ग हुने दर अत्यन्तै उच्च छ। त्यस्तै काम गर्ने स्थानहरूमा सुरक्षाका उपायहरू पर्याप्त नभएको पाइन्छ।
कोरियामा सबैभन्दा बढी नेपाली कामदार ‘ईपीएस’ प्रणालीमार्फत पुग्छन्। सन् २००४ बाट औपचारिक रूपमा सुरु भएको यो प्रणाली अघिल्लो दशकमा झन् बढ्दो अवस्थामा छ। नेपाली कामदारहरूले मासिक १,३०० डलरसम्म कमाउने गरेका छन्।
कोरियामा रोजगारी नेपाली युवाहरूका लागि लोभलाग्दो अवसर हो, तर त्यहाँ सफल र सुरक्षित बसोबास गर्न मानसिक, शारीरिक, भाषिक र सामाजिक दृष्टिले तयारी हुनु आवश्यक छ। कामदारको सुरक्षा, मानसिक स्वास्थ्य र आर्थिक अनुशासनलाई सँगसँगै ब्यवहारमा लागू गर्न सकेमात्र यो अवसर दिर्घकालीन रूपमा फलदायी बन्न सक्छ।