
भदौ ७, २०८२। एजेन्सी
काठमाडौं – थाइल्यान्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रामाथि लागेको शाही अपमान र देशद्रोह सम्बन्धी मुद्दा खारेज गरेको छ।
यो मुद्दा सन् २०१५ मा निर्वासनमा रहँदा दिएको अन्तर्वार्तासँग जोडिएको थियो। दक्षिण कोरियाली पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले थाइल्यान्डको प्रिभी काउन्सिल (शाही सल्लाहकार निकाय) लाई २०१४ को सैनिक विद्रोहमा संलग्न भएको आरोप लगाएका थिए। सो विद्रोहपछि उनकी बहिनी यिंगलक शिनावात्राको सरकार अपदस्थ भएको थियो।
अभियोग सिद्ध भए थाक्सिनलाई १५ वर्षसम्म कैद सजाय हुने सम्भावना थियो। तर अदालतले शुक्रबार फैसला सुनाउँदै मुद्दा खारेज गरेको छ।
थाइल्यान्डको कानुनअनुसार शाही परिवार वा राजतन्त्रको आलोचना वा अपमान अपराध मानिन्छ। अन्तर्राष्ट्रिय मानवअधिकार संस्था र समीक्षकहरूले यो कानुनलाई प्रायः राजनीतिक प्रतिपक्षी र कार्यकर्तामाथि दमन गर्न प्रयोग हुने गरेको आरोप लगाउँदै आएका छन्।
यो निर्णय त्यस्तो समयमा आएको हो, जब थाक्सिनकी छोरी तथा निलम्बित प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्रा पनि अदालतको कारबाहीमा सामेल छिन्। यसले थाइल्यान्डको राजनीति फेरि तात्ने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ।