तिरहुत टाइगर्सको पुन: विजयी सप्तरी प्राइड लिगको उपाधि लगातार दोस्रोपटक बिजय भएको छ।
राजविराजं,सप्तरी ,श्रावन १ – तिरहुत टाइगर्सले लगातार दोस्रोपटक सप्तरी प्राइड लिग (एसपिएल) को उपाधि जित्न सफल भएको छ। बिहीबार सम्पन्न फाइनल खेलमा तिरहुतले राजविराज राजदेवी रोयल्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचाल्यो।
राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको रोयल्सले ९२ रन मात्र बनायो। जवाफमा टाइगर्सले १५.३ ओभरमै लक्ष्य पूरा गर्यो।
टाइगर्सका ओपनर भोला शाहले अविजित ५४ रन बनाए। उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। निरज यादवले १८ रन बनाए भने अभिनाश कर्णले १३ रनको योगदान दिए। रोयल्सका लागि नितेश यादवले एकमात्र विकेट लिए।
रोयल्सका तर्फबाट रोहन विकले २३, अभिषेक तिवारीले १९, र जितु यादवले अविजित १८ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंक छुन सकेनन्। टाइगर्सको बलिङमा श्रवन यादवले ३ विकेट, चित्र बहादुर बिस्ट र अनिल यादवले २-२ विकेट लिए। राहुल मण्डल र अजय यादवले समान १ विकेट लिए।
विजेता बनेको टाइगर्सले नगद २ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता रोयल्सले १ लाख रुपैयाँमा चित्त बुझायो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी रोयल्सका दिवान पुन घोषित भए जसले ४ खेलमा १०१ रन बनाएका थिए र ६ विकेट लिएका थिए।
त्यस्तै, उत्कृष्ट ब्याटर टाइगर्सका भोला शाह (१३८ रन), उत्कृष्ट बलर चित्र बहादुर बिस्ट (१३ विकेट), र उदयमान खेलाडी अनिल यादव घोषित भए। उत्कृष्ट ब्याटर र बलरलाई जनही १५ हजार रुपैयाँ र उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिएको थियो।
८ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सप्तरी
जिल्लाका ८ टिम सहभागी थिए।