Headlines

ट्रम्पको धम्कीपछि क्यानडा–अमेरिका व्यापारमा तनाव प्रधानमन्त्री कार्नीको रणनीति

donald trump , amerika ko rastrapati

donald trump , amerika ko rastrapati

एजेन्सी, असार ३१- क्यानडा र अमेरिकाबीचको व्यापार सम्बन्ध फेरि तनावपूर्ण अवस्थामा पुगेको छ। अमेरिकी राष्ट्रपति तथा आगामी निर्वाचनका उम्मेदवार डोनल्ड ट्रम्पले आगामी अगस्ट १ देखि क्यानडाबाट आयात हुने वस्तुहरूमा ३५ प्रतिशतको नयाँ ट्यारिफ लगाउने धम्की दिएपछि दुई देशबीचको व्यापार वार्ता थप पेचिलो बनेको छ।

ट्रम्पको यस घोषणाले क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीको राजनीतिक र कूटनीतिक क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। एप्रिल २०२५ मा सम्पन्न आम निर्वाचनमा उनले अमेरिकी दबाबका अगाडि झुकेर सम्झौता नगर्ने भन्दै
“एल्बो अप” शैलीमा कडा अडान लिएका थिए। तर पछिल्लो घटनाक्रमले त्यो वाचा कति टिकाउ थियो भन्ने बहस चर्किएको छ।

ट्रम्पले जुन महिनाको अन्त्यतिर व्यापार वार्ता तोड्नेसम्मको चेतावनी दिएका थिए। त्यसपछि क्यानडाले अमेरिकामा व्यापार गर्ने ठूला डिजिटल कम्पनीहरूका लागि प्रस्ताव गरिएको डिजिटल सेवा कर (DST) योजना स्थगित गर्‍यो। यस निर्णयपछि व्हाइट हाउसले क्यानडा ‘झुकेको’ ठहर गर्‍यो। यसरी हचुवाको निर्णय लिएको आरोप प्रधानमन्त्री कार्नीमाथि लाग्दै गएको छ।

क्यानडेली टिप्पणीकारहरू, जस्तै रोबीन अर्ब्याक, भन्छिन्, कार्नीले चुनावमा बोलेको ‘एल्बो अप’ अब ‘चिकन डान्स’ जस्तै भएको छ देखावटी बहानामा मूल मुद्दाबाट भाग्ने शैली।

यस विषयमा विभिन्न मतहरू छन्। ब्रक विश्वविद्यालयका प्राध्यापक ब्लेन ह्यागर्ट लेख्छन् कार्नीको अमेरिका रणनीतिमा कुनै स्पष्टता छैन। उनले डिएसटीबाट पछि हटेर शून्यभन्दा कम उपलब्धि पाएका छन्।

अर्कातर्फ ओटावाका पूर्व कूटनीतिक सल्लाहकार रोल्यान्ड प्यारिस भन्छन् सम्झौताको नतिजा आउन बाँकी छ। अहिले नै निर्णय सुनाउनु हतार हुन्छ। धेरै कुरा अन्तिम सम्झौतामा निर्भर गर्छ।

यद्यपि आलोचना चुलिँदै गएको छ। जनमत सर्वेक्षणहरूमा कार्नीको लोकप्रियता अझै कायम देखिएको छ। मुलुकभित्र ट्यारिफको विरोधमा विभिन्न राजनीतिक दलबीच एकता देखा परेको छ।

कन्जरभेटिभ पार्टीका नेता पिअर पोलिएभ भन्छन् क्यानडाका लागि राम्रो सम्झौता गर्न जेसुकै गर्न तयार छौं। ब्रिटिश कोलम्बियाका प्रिमिअर डेभिड इबी ले ट्रम्पको पत्रले क्यानडेलीहरूलाई फेरि एक पटक एकताको सन्देश दिएको बताएका छन्।

डोनल्ड ट्रम्पको रणनीति स्पष्ट छ, सशक्त ट्यारिफ लगाएर वार्तामा दबाब सिर्जना गर्नु। तर यस रणनीतिका पछाडि अमेरिकी उपभोक्ताहरूले नै मूल्य तिर्नुपर्ने यथार्थ पनि रहेको कार्लटन युनिभर्सिटीका अन्तर्राष्ट्रिय विशेषज्ञ फेन ह्याम्सन बताउँछन्। उनका अनुसार अन्तिम सम्झौता हेरेर मात्रै नतिजा मूल्याङ्कन गर्न सकिन्छ।

प्रधानमन्त्री कार्नीले अमेरिकासँगको निर्भरता घटाउन युरोपेली युनियनसँग स्वतन्त्र व्यापार सम्झौता विस्तार गर्ने प्रयास, ठूला परियोजनामा लगानी बढाउने योजना र घरेलु अवरोध हटाउने नीतिहरू अघि बढाइरहेका छन्।

क्यानडाले ट्रम्पलाई मन पार्न सीमासुरक्षा सुदृढ गर्न १.३ अर्ब क्यानडेली डलर बजेट छुट्याएको छ। अमेरिका-क्यानडा सिमानाबाट लागुऔषध आउने ट्रम्पको दाबी समाधान गर्न ‘फेन्टानाइल जार’ नामक निकाय समेत गठन गरिएको छ।

तर सबै प्रयासहरूका बाबजुद पनि ट्रम्पको नयाँ ट्यारिफ घोषणा आउनुले क्यानडा सरकार दबाबमा आएको स्पष्ट संकेत गर्छ।

क्यानडाली प्रधानमन्त्री मार्क कार्नीको व्यापार रणनीति र कूटनीतिक सन्तुलनको ठूलो परीक्षा आउँदो अगस्ट १ अघि हुनेछ। यदि ट्रम्पको धम्की व्यावहारिक निर्णयमा परिणत भयो र क्यानडाले असमान सम्झौता गर्नु परेको खण्डमा कार्नीले स्वदेशमा राजनीतिक मूल्य चुकाउनु पर्ने निश्चित देखिन्छ।

तर अहिलेका लागि क्यानडामा ट्रम्पविरुद्ध एकताको लहर छ र अधिकांश नेताहरू देशको हितका लागि साझा मोर्चा बनाउने भनाइमा अडिग छन्। अन्तत दुई मुलुकबीचको यो व्यापारिक द्वन्द्वले क्यानडाको आर्थिक र कूटनीतिक भविष्य कता मोडिन्छ त्यो हेर्न अब धेरै कुर्नुपर्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *