साउन २३, २०८२।
काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL) को दोस्रो संस्करणका लागि लोकप्रिय छोटो भिडियो प्लेटफर्म ‘टिकटक’ आधिकारिक इन्टरटेनमेन्ट पार्टनर बनेको छ। आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सेप्टेम्बर ५ देखि १३ (भदौ २०–२८) सम्म हुने लिगमा टिकटकको सहभागिता औपचारिक रूपमा घोषणा गरेको हो।
यो साझेदारीको उद्देश्य लिगलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउने, नेपाली महिला खेलाडीको सशक्तिकरणलाई बढावा दिने र खेलको सांस्कृतिक तथा राष्ट्रिय महत्त्वलाई डिजिटल माध्यममार्फत विश्वभर पुर्याउने रहेको आयोजकले जनाएको छ।
टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदका अनुसार यो सहकार्य नेपाली राष्ट्रिय खेललाई ‘उत्सव’को रूपमा मनाउने, महिला खेलको कथा विश्वव्यापी दर्शकसम्म पुर्याउने र अन्तर्राष्ट्रिय पहिचान दिलाउने ऐतिहासिक अवसर हो।
वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सीईओ स्नेभी चापागाईंले यो सहकार्यलाई “गेम चेन्जर” भन्दै यसले महिला खेलको कथा गाउँ–सहर र विश्वसामु पुर्याउनेमा विश्वास व्यक्त गरिन्।
यस साझेदारीअन्तर्गत पर्दा पछाडिका दृश्य, डिजिटल च्यालेन्ज (#EWVOnTikTok #AbaPaloMahilako), भलिबल स्टार र कन्टेन्ट क्रिएटरबीचको सहकार्य, लाइभ अपडेट, हाइलाइट भिडियो र स्टेडियममा ‘टिकटक जोन’ जस्ता गतिविधि हुनेछन्।
एसियाकै पहिलो पेशेवर महिला भलिबल फ्रेन्चाइज लिगका रूपमा परिचित EWVL लाई नेपाल भलिबल संघले स्वीकृति प्रदान गरेको छ, र यसका लागि खेलाडी अक्सनसमेत सम्पन्न भइसकेको छ।