काठमाडौं, असार २७ – नेपालमा मनसुन सुरु भएदेखि देशका विभिन्न भागहरूमा बाढी, पहिरो, र जलजन्य प्रकोपले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीले एकातिर जनधनको क्षति गरिरहेको छ भने अर्कातिर सामाजिक सञ्जालहरूमा फैलिने भ्रामक र झुटा सूचनाहरूले आम नागरिकमा त्रास र अन्योल बढाइरहेका छन्।
यसै सन्दर्भमा, चिनियाँ सामाजिक सञ्जाल कम्पनी टिकटकले नेपालका लागि एक नयाँ र जानकारीमूलक सर्च गाइड सार्वजनिक गरेको छ। टिकटकको यो पहलले प्राकृतिक प्रकोपहरूबारे विश्वसनीय जानकारी प्रवाह गर्ने उद्देश्य राखेको छ जसबाट नेपाली प्रयोगकर्ताले सुरक्षित, समयमै र प्रमाणित सूचना प्राप्त गर्नसक्ने बताइएको छ ।
बाढीको अवस्थामा गलत जानकारीको प्रसारले मात्र सामाजिक भ्रम सिर्जना गर्दैन, यसले उद्धार र राहत कार्यमा संलग्न निकायहरूलाई समेत प्रभावित बनाउँछ। उदाहरणका लागि, कुनै ठाउँमा अत्यधिक बाढीको झुटो सूचना फैलँदा अनावश्यक त्रास, भागदौड, र भौतिक क्षति निम्तिन सक्छ।
डिजिटल युगमा सूचनाको पहुँच जति छिटो हुन्छ, गलत सूचना पनि त्यतिकै तीव्र गतिमा फैलिन्छ। यही समस्याको सामना गर्दै टिकटकले आफ्नो प्लेटफर्ममा ‘ट्रस्टेड इन्फर्मेसन एक्सेस’ प्रणाली अन्तर्गत नयाँ बाढीसम्बन्धी सर्च गाइड लागू गरेको हो।
के हो टिकटकको बाढीसम्बन्धी सर्च गाइड?
टिकटकको यो नयाँ सर्च गाइडले बाढीसम्बन्धी जानकारी खोज्दा प्रयोगकर्तालाई विशेष ब्यानर देखाउनेछ। सो ब्यानरमा क्लिक गरेपछि प्रयोगकर्ताले निम्न स्रोतहरूबाट प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् ।
१. नेपाल सरकारको विपद् सूचना पोर्टल (BIPAD) – यो पोर्टलबाट प्रयोगकर्ताले देशभरका बाढी, पहिरो, जलस्रोतको अवस्था, पूर्वानुमान, र प्रभावित क्षेत्रबारे विवरण पाउन सक्नेछन्।
२. टिकटकको सेफ्टी सेन्टर – जहाँ प्रयोगकर्तालाई प्लेटफर्म सुरक्षित प्रयोग गर्ने तरिका, गलत सूचना रिपोर्ट गर्ने उपाय, र डिजिटल सुरक्षाबारे प्रशिक्षण प्रदान गरिन्छ।
३. ट्र्याजिक इभेन्ट सपोर्ट गाइड – प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य पीडादायी घटनापछि पीडित व्यक्तिलाई मनोसामाजिक समर्थन, सूचना व्यवस्थापन, र आवश्यक हेल्पलाइनमा पहुँच सुनिश्चित गराउने गाइड।
सामाजिक सञ्जालमा बाढी, दुर्घटना वा अन्य संवेदनशील घटनासम्बन्धी सामग्री साझा गर्दा प्रयोगकर्ताले मानसिक स्वास्थ्य र मानव अधिकारको ख्याल गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ। टिकटकको गाइडले यस्ता घटनासँग सम्बन्धित सामग्री पोस्ट गर्दा विचार गर्नुपर्ने विषयहरू उल्लेख गरेको छ। साथै मानसिक तनावमा परेका व्यक्तिहरूका लागि सहयोगको विकल्पहरू पनि सुझाइएको छ।
टिकटकका दक्षिण एशिया पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स प्रमुख फिरदौस मोत्ताकिनले भने, संकटको घडीमा सही सूचना समयमै उपलब्ध गराउनु हाम्रो पहिलो प्राथमिकता हो। हामीले नेपाल सरकारसहितका निकायहरूसँग सहकार्य गरेर प्रयोगकर्तालाई विश्वसनीय जानकारी प्रदान गर्दैछौं।
उनी भन्छन् हाम्रो समुदाय सुरक्षित रहोस् भन्ने हेतुले हामीले सोर्सहरूको पहुँच सहज बनाएका छौं र डिजिटल वातावरण जिम्मेवार बनाउन प्रतिबद्ध छौं।
सूचनाको विश्वसनीयता बढाउन यो गाइडले दीर्घकालीन रुपमा सशक्तिकरण गर्ने अपेक्षा गरिएको छ। डिजिटल माध्यममा चेतना र जिम्मेवारी निर्माणको यो पहल टिकटकको सामाजिक उत्तरदायित्वतर्फको महत्वपूर्ण कदम मानिन्छ।
विशेषज्ञहरू भन्छन् कि डिजिटल माध्यमले सूचनाको सहज पहुँच त दिएको छ तर त्यसको उपयोग जिम्मेवार ढंगले नगरेमा त्यसले समाजमा भ्रम, तनाव र त्रास फैलाउन सक्छ। त्यसैले टिकटकको यो सर्च गाइडले सामाजिक सञ्जाललाई सूचना स्रोतभन्दा बढी सुरक्षा र सहयोगको माध्यम बनाउने अपेक्षा गरिएको छ।
नेपालमा सूचनाको स्रोत र सत्यतामा सन्देह गर्ने परिपाटी बलियो छ। एकातिर भरपर्दो सूचनाको अभाव छ भने अर्कोतिर सामाजिक सञ्जालमा गलत खबरहरू सजिलै फैलिन्छन्। यस्तो अवस्थामा सरकारी संस्थाहरू, सञ्चारमाध्यमहरू र सामाजिक सञ्जाल प्लेटफर्महरूबीच समन्वय आवश्यक छ।
टिकटकले अब सूचना प्रदायकको हैसियतमा आफूलाई उभ्याउँदै छ जुन अत्यन्त सकारात्मक पक्ष हो। तर यसलाई निरन्तरता दिने, स्थानीय सन्दर्भअनुसार अद्यावधिक गर्ने, र प्रयोगकर्तालाई सूचना साक्षरता बनाउने कार्यलाई दीर्घकालीन प्राथमिकतामा राख्नुपर्छ ।
टिकटकको बाढीसम्बन्धी नयाँ सर्च गाइडले डिजिटल युगमा सूचना प्रबन्धनको नयाँ मोडेल प्रस्तुत गरेको छ। प्राकृतिक विपद् जस्ता संकटका बेला गलत सूचना नियन्त्रण, सुसूचित नागरिक निर्माण, र डिजिटल सुरक्षित वातावरण विकास गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको छ ।
नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा विपद् व्यवस्थापनको अभिन्न अंगका रूपमा सूचनाको महत्व झनै बढेको छ। यस्तोमा टिकटकको यो प्रयास अन्य सामाजिक सञ्जाल र सञ्चार संस्थाहरूका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्छ।