जेनजी आन्दोलनमा सहभागी कानुनका विद्यार्थी भन्छन्: संविधान फाल्ने होइन, सुधार्ने बेला हो

जेनजी आन्दोलन, कानुन विद्यार्थी, संविधान सुधार, न्यायपालिका सुधार, राजनीतिक दल, Online Khabar, नेपाल समाचार

कार्तिक २६, २०८२।   राज नेपाली

जेनजी आन्दोलन, कानुन विद्यार्थी, संविधान सुधार, न्यायपालिका सुधार, राजनीतिक दल, Online Khabar, नेपाल समाचार

काठमाडौं – जेन–जी आन्दोलन सुरु भएको दुई महिना बितिसक्दा पनि कानुनका विद्यार्थीहरूका मनमा अझै उथलपुथल बाक्लै छ। उनीहरू भन्छन्, देशको व्यवस्थाले युवाको सपना चकनाचुर पारेको छ, तर संविधान फाल्नु समाधान होइन, सुधार गरेर अघि बढ्नु नै अबको बाटो हो।

माइतीघरदेखि संसद् भवनसम्मको आन्दोलनमा सहभागी भएका कानुनका विद्यार्थी र युवा अधिवक्ताहरूले न्यायालय, राजनीतिक दल र शासन प्रणालीमा गहिरो सुधार आवश्यक रहेको बताएका छन्। उनीहरूको भनाइमा अदालतमा हुने ढिलासुस्ती, भ्रष्टाचार, र राजनीतिक हस्तक्षेप न्यायको मेरुदण्ड नै हल्लाउने अवस्था बनेको छ।

संविधान जोगाउँदै सुधार गर्नुपर्छ, प्रत्यक्ष निर्वाचित कार्यकारीको लोभ खतरनाक हुन सक्छ, अधिवक्ता आशुतोष पाण्डेले भने। अर्का विद्यार्थी माजिद अन्सारीका अनुसार, न्यायालयमा साना कामका लागि घुस तिर्नुपर्ने बाध्यता नै आन्दोलनको बीउ बन्यो।

उनीहरूको साझा सन्देश स्पष्ट छ ।

संविधान जीवित दस्तावेज हो, त्यसलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ।
दलहरूले आन्तरिक लोकतन्त्र र राजनीतिक संस्कार बलियो बनाउनुपर्छ।
न्यायपालिकालाई स्वतन्त्र र पारदर्शी बनाउने निर्णायक कदम अब ढिलो गर्न हुँदैन।

कानुन विद्यार्थी यमनी खनालले भने, स्थिर मुलुकहरूले लामो समयसम्म संविधान टिकाएका छन्। नेपालले पनि संशोधन र कार्यान्वयनको बाटो रोज्नुपर्छ।

विद्यार्थीहरूले दलभित्रको जवाफदेहिताको अभाव, न्यायिक परिषद् र संवैधानिक परिषद्मा राजनीतिक दबाब, र युवालाई राजनीतिक निर्णय प्रक्रियाबाट टाढा राख्ने प्रवृत्तिमाथि तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

आन्दोलनमा सहभागी विद्यार्थी विपना शर्माले भनिन्, हामी संविधान फाल्न होइन, दलहरूलाई जिम्मेवार बनाउन सडकमा गएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।