
भदौ १२, २०८२।
गोरखा – चुमनुव्री गाउँपालिका–६ चुम्चेतका वडाध्यक्ष सरोज लामा वैदेशिक रोजगारीका लागि जर्मनी गएका छन् । मंगलबार जर्मनी उडेका लामाले सामाजिक सञ्जालमार्फत आफूले राजनीतिबाट सदाका लागि बिदा लिएको घोषणा गरेका छन्।
लामाले फेसबुकमा लेखेका छन्, सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीसाथ आफ्नो भूमिकालाई निर्वाह गरियो तर जति गरे पनि जस नपाउने अवस्थाले आत्मसन्तुष्टि भएन।
उनले अब नयाँ जीवन सुरु गर्न परदेश लागिएको उल्लेख गर्दै वडाध्यक्ष पद भने कार्यवाहकमार्फत सञ्चालन हुने जानकारी दिएका छन्। वडाध्यक्ष लामाले वडा सदस्य ठिले ग्याम्जोलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट विजयी भएका लामा मात्र होइन चुमनुव्री गाउँपालिकाका अन्य जनप्रतिनिधिहरू पनि विदेशिएका छन्। यसअघि तीन जना वडा सदस्य सोनाम लामा, डोल्मा लामा र छेटेन लामाले राजीनामा दिएर परदेशिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए।
गोरखाका अन्य दुई वडाध्यक्ष पनि विदेश गएर फर्किएका छैनन्। सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेश्वर पोखरेल अमेरिका गएका एक वर्ष भइसकेको छ भने धार्चे गाउँपालिका–६ का वडाध्यक्ष धनबहादुर घले बेलायत गएर उतै स्थायी भएका छन्।
धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार वडाध्यक्ष घले लामो समयदेखि कार्यालयमा अनुपस्थित हुँदा सेवा–सुविधा रोकिएको छ। सिरानचोक गाउँपालिकामा भने स्थानीयले वडाध्यक्ष पद खारेजीको माग समेत गरेका छन्।
गाउँपालिका अध्यक्षहरूले निर्वाचित जनप्रतिनिधिहरूको विदेशिने प्रवृत्ति जनमतप्रतिको गैरजिम्मेवारी भएको बताउँदै यसले स्थानीय सेवा प्रवाहमा गम्भीर असर पार्ने चिन्ता व्यक्त गरेका छन्।