चितवन, साउन ७ – नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणलाई लक्षित गर्दै चितवन राइनोजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। नयाँ लोगोमा ‘राइनोज’ अर्थात् गैंडालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ भने अघिल्लो सिजनको लोगोमा देखाइएको ब्याटको चिह्न यसपटक हटाइएको छ।
टिमका अध्यक्ष आयुष न्यौपानेका अनुसार यो परिवर्तन फ्यानहरूको भावना र टिमको पहिचानलाई अझ प्रष्ट बनाउने प्रयासको हिस्सा हो। “भावना उही हो, तर यसको प्रस्तुति अझ स्पष्ट भएको छ” उनले भने।
नयाँ लोगो निर्माणको प्रेरणा अघिल्लो सिजन लोकप्रिय बनेको टिम मस्कट ‘मिस्टर गैंडा’बाट आएको समेत न्यौपानेले जानकारी दिए। टिमले लोगोमा क्रिकेटको प्रत्यक्ष प्रतीक (ब्याट) नदिए पनि राइनोजको आकृति र डिजाइनले टिमको साहसी र सशक्त छविलाई झल्काउने विश्वास गरिएको छ।
चितवन राइनोजले एनपीएल दोस्रो सिजनका लागि कप्तान कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरिसकेको छ। टिमको बाँकी संरचना मिनी अक्सनपछि टुंगो लाग्नेछ, जुन आगामी अगस्ट महिनामा हुने तय छ।
नयाँ लोगो:
लोगोमा ‘गैंडा’लाई अगाडि राखिएको, ब्याट हटाइएको
टिम मस्कट ‘मिस्टर गैंडा’ले प्रेरित
फ्यान भावना र टिम पहिचानमा जोड
अध्यक्ष न्यौपाने भन्छन्, “भावना उही, प्रस्तुति स्पष्ट”
चितवन राइनोज एनपीएलको पहिलो संस्करणमै प्रतिस्पर्धी टिमको रूपमा चिनिएको थियो। दोस्रो संस्करणमा नयाँ लोगोको साथ टिमले नयाँ ऊर्जा र स्पष्ट उद्देश्यसहित मैदानमा उत्रिने तयारी गरिरहेको छ।