काठमाडौं, साउन ११ – चितवन चनौली वितरण केन्द्रअन्तर्गत विद्युत् प्राधिकरणले आइतबारदेखि लागू हुनेगरी ६ घण्टासम्मको विद्युत् कटौती तालिका सार्वजनिक गरेपछि स्थानीयहरू आक्रोशित बनेका छन्। साउनको गर्मी, रोपाइँको चटारो र सिँचाइको समय परेका बेला गरिएको विद्युत् कटौतीले जनतामा असन्तुष्टि बढेको छ।
प्राधिकरणले नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा दुई सत्रमा ३–३ घण्टाको कटौती हुनेगरी तालिका सार्वजनिक गरेको हो। केन्द्रका अनुसार भरतपुर १३२/३३ केभी सबस्टेशनबाट सञ्चालित ३३ केभी डग कन्डक्टरमा ३०० एम्पिएरसम्म मात्रै विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ। तर हाल माग बढेर ४५० एम्पिएर पुग्दा लाइनमा अत्याधिक भार पर्न थालेको छ।
चनौली केन्द्रले समस्या समाधानका लागि बसेनी सबस्टेशनबाट अर्को ३३ केभी प्रसारण लाइन निर्माण भइरहेको जानकारी दिएको छ। तर उक्त लाइन पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने भएकाले तत्कालका लागि कटौती नै गर्नुपर्ने बाध्यता रहेको केन्द्रले जनाएको छ।
नारायणी–माडी फिडर: बिहान ६–९ बजे र दिउँसो ३–६ बजे
मेघौली–विजयनगर–शुक्रनगर फिडर: बिहान ९–१२ बजे र बेलुका ६–९ बजे
जगतपुर–रामपुर फिडर: दिउँसो १२–३ बजे र राति ९–१२ बजे विद्युत् आपूर्ति बन्द हुने
लोडसेडिङको शैलीप्रति सामाजिक सञ्जालमा आलोचना
यद्यपि केन्द्रले यो कटौती आइतबारका लागि मात्र हो भने पनि स्थानीयबासीले यसलाई लोडसेडिङको सुरुआत भनेर आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमा कतिपयले केही वर्षको विश्रामपछि फेरि लोडसेडिङ फर्कन लागेको हो? भनेर प्रश्नसमेत गरेका छन्।
नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुख जितेन्द्र कुमार झाले यो समस्या मंगलबारसम्म हल हुने दाबी गरेका छन्। उनका अनुसार पूर्वी चितवनको हर्दीमा निर्माण भइरहेको २४ मेगावाट क्षमताको विद्युत् लाइन जडान अन्तिम चरणमा पुगेको छ।
उक्त लाइनबाट भरतपुर–१३ को देवनगर सबस्टेशनमा आपूर्ति गरिनेछ र सोही स्थानबाट ३३ केभी लाइनमार्फत जगतपुरमा विद्युत् प्रवाह गरिनेछ। यसले चनौली केन्द्रको भार कम गर्न मद्दत गर्ने बताइएको छ।
स्थानीयवासीले अत्याधिक गर्मी, खेतमा सिँचाइको अभाव र दैनिक कामकाजमा असरपर्ने भन्दै लोडसेडिङको विकल्प खोज्न माग गरेका छन्।