Headlines

ओली सरकार राजा महेन्द्रभन्दा पनि प्रतिगामी भएको भीम रावलको आरोप

भीम रावल, ओली सरकार, विदेशी ऋण, विश्व बैंक नेपाल, ऋण विवाद नेपाल, केपी ओली ऋण, नेपाल सरकार आलोचना, जनतामाथि पाखण्ड, नेपाली राजनीति, नागरिक समाचार

भीम रावल, ओली सरकार, विदेशी ऋण, विश्व बैंक नेपाल, ऋण विवाद नेपाल, केपी ओली ऋण, नेपाल सरकार आलोचना, जनतामाथि पाखण्ड, नेपाली राजनीति, नागरिक समाचार

साउन १७, २०८२।

काठमाडौं- नेकपा एमालेका पूर्व वरिष्ठ नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई राजा महेन्द्रको शासनभन्दा पनि प्रतिगामी भएको आरोप लगाएका छन्।

शनिबार राजधानीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रावलले भूमिसम्बन्धी ऐनमा प्रस्तावित संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै सार्वजनिक जग्गा कब्जा गर्न सजिलो बनाउने नियत भएको दाबी गरे।

रावलले २०२१ सालमा राजा महेन्द्रद्वारा लागू गरिएको भूमिसुधार ऐनको प्रगतिशील प्रावधानहरू उल्ट्याउने प्रयास भएको भन्दै ओली नेतृत्वको सरकारलाई तीव्र आलोचना गरे। उनका अनुसार त्यतिबेलाको भूमिसुधार ऐनले उद्योग सञ्चालनको नाममा निश्चित सीमा नाघेका जमिनलाई नचलाएमा राज्यले फिर्ता लिन सक्ने कानुनी व्यवस्था गरेको थियो।

तर अबको संशोधनले उद्योग नचलाए पनि त्यस्ता जमिनलाई जग्गाधनीको सम्पत्तिको रूपमा राख्न दिने प्रस्ताव गरिएको भन्दै रावलले चेतावनी दिए, यो त राजा महेन्द्रभन्दा पनि प्रतिगामी कदम हो।

उनले संशोधन पछाडि गिरिबन्दु टी-स्टेट, नुवाकोट दरबार, बालुवाटार लगायतका सार्वजनिक जग्गा हडप्ने योजनालाई संकेत गर्दै गम्भीर शंका व्यक्त गरे। रावलले भने, यो संशोधनले जमिनदारहरूलाई हजारौं बिघा जग्गा कब्जा गर्न बाटो खोल्नेछ। यसमा राम्रो आशय देखिँदैन।

केपी ओलीको विगत र वर्तमानको विरोधाभास
भीम रावलले ओलीसँगको जेल जीवनको स्मरण गर्दै उनको वर्तमान व्यवहारप्रति आश्चर्य व्यक्त गरे। उनले भने, २०३२ सालमा जेलमा ओलीजी र राधाकृष्ण मैनालीजीले हामीलाई सामन्ती विरोधी गीत गाएर क्रान्तिको शिक्षा दिनुहुन्थ्यो। तर आज त्यही साथीहरूले सामन्त र जमिनदारलाई पोस्ने कानुन ल्याइरहनु भएको छ।

उनले वर्तमान राजनीतिक दलहरू सिद्धान्त र दर्शनबाट च्युत भएको टिप्पणी गर्दै सरकार र प्रतिपक्षबीचको विभाजन नै हराइसकेको बताए। रावलले व्यंग्य गर्दै भने, नेकपा एमाले जिन्दावाद, भोट हलोमा, नेपाली कांग्रेस जिन्दावाद, भोट हँसिया हथौडामा- यस्तो सिद्धान्तहीन राजनीतिले देशको सार्वभौमिकता कसरी जोगाउने?

भीम रावलले आफूले सुरु गरेको ‘मातृभूमि जागरण अभियान’ त्यही राजनीतिक विचलनविरुद्धको चेतनाको रूपमा अघि बढाइएको स्पष्ट गरे। उनले दलहरूको दोहोरो चरित्र र सत्ता केन्द्रित राजनीतिप्रति जनतालाई जागरुक बनाउने अभियान सञ्चालन गरिने जानकारी पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *