एसियन कप फाइनल नेपाल र उज्वेकिस्तानको भिडन्त
असार २१, २०८२ । काठमाडौं दैनिक संवाददाता
काठमाडौं- नेपाली महिला फुटबल टोली इतिहास रच्ने सबैभन्दा महत्त्वपूर्ण मोडमा आइपुगेको छ। एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत नेपाल र उज्वेकिस्तान बीच शनिबार तासकन्दमा हुने निर्णायक खेलले समूह ‘एफ’ को विजेता र एसियन कप खेल्ने टोलीको टुंगो लगाउनेछ।
आज हुने यो प्रतिस्पर्धा समुह चरणको अन्तिम खेल हो। नेपालका लागि यो सम्भावनाको ढोका खोल्ने ९० मिनेट हो, जहाँ जितको नतिजाले नेपाली महिला फुटबललाई अर्को स्तरमा पुर्याउनेछ। नेपाल र उज्वेकिस्तान दुवै टोलीले दुई खेलमा दुई जित निकाल्दै समान ६ अंक र समान १७ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। अझ रोचक त के छ भने दुवैले अहिलेसम्म कुनै गोल खाएका छैनन्।
यस आधारमा समूहको अन्तिम खेल ‘फाइनल’ सरह भएको छ। विजेता टोलीले एसियन कप २०२६ को टिकट पाउनेछ भने पराजित टोलीको सपना त्यहीं टुंगिनेछ।
हाल उज्वेकिस्तान फिफा वरीयतामा ५१ औं स्थानमा छ भने नेपाल १०० औं स्थानमा। वरीयताको हिसाबले उज्वेकिस्तान बलियो प्रतिद्वन्द्वी हो। विगतका तीनै खेलमा उज्वेकिस्तानले जितेको इतिहास पनि छ। सन् २०१९ मा आयोजित नादेज्दा कपमा नेपाल दुई पटक उज्वेकिस्तानसँग भिडेको थियो।
समूह चरणमा २-० ले पराजित भएको नेपाल फाइनलमा ३-२ ले हार्यो। त्यो खेलमा सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलले नेपालले अन्तिम क्षणसम्म संघर्ष गर्यो तर बराबरी सम्भव भएन।
सन् २०१९मा भएको त्यो हार अब प्रेरणामा रूपान्तरण भएको छ। नेपाली टोलीको यो स्वरूप आत्मविश्वास, तयारी र टिम संयोजनको हिसाबले अझ सशक्त देखिएको छ। नेपाली टोलीको आक्रमण लाइनले समूह चरणका दुई खेलमा कुल १७ गोल गर्दै शानदार फर्म देखाएको छ।
सावित्रा भण्डारीको निरन्तर गोल स्कोरिङ क्षमताले टोलीलाई अग्रता दिने मुख्य आधार बनेको छ। साथै, रेखा पौडेल, प्रिति राई,अनिता बस्नेत, मनमाया लिम्बु, शिल्पा थापा, गीता राणा जस्ता खेलाडीहरूको योगदानले टोलीको प्रदर्शन थप सन्तुलित बनेको छ।
टोलीका प्रशिक्षक कृष्ण थापाले उज्वेकिस्तानविरुद्धको खेलका लागि विशेष रणनीति बनाएको जनाएका छन्। थापाका अनुसार हामी फिजिकल प्ले र बल पोजेसन दुबैमा ध्यान दिँदैछौं। उज्वेकिस्तान बलियो टोली भए पनि हामी तयार छौं। हाम्रो फोकस आजको फाईनल खेल जित्नमा छ।
उज्वेकिस्तानले एसियन कपको पाँचपटक अनुभव बटुलेको छ। घरेलु मैदानमा खेल्ने फाइदा फिफा रैंकिंगमा उच्च स्थान र विगतका सफलताले उनीहरूलाई आत्मबल प्रदान गर्छ।
तर यही आत्मबलले कहिलेकाहीँ दवाब पनि दिन सक्छ।
उज्वेकिस्तानको टोली संरचना अनुशासित छ र ट्याक्टिकल योजना बलियो देखिन्छ। उनीहरूले डिफेन्स लाइनमा मजबुती राख्दै प्रतिपक्षीलाई गोल गर्ने अवसर नै दिएका छैनन्। तर नेपाली आक्रमण लाइन यति आक्रामक देखिएको छ कि उनीहरूका लागि कुनैपनि ढिलाइ प्राणघातक बन्न सक्छ ।
नेपालभर अहिले महिला फुटबलको यो उपलब्धिलाई लिएर उत्साह छाएको छ। सामाजिक सञ्जालदेखि खेल विश्लेषकसम्म सबैले नेपाली टोलीको प्रशंसा गरिरहेका छन्। प्रधानमन्त्रीदेखि खेलप्रेमीहरूसम्मले टोलीलाई शुभकामना दिइरहेका छन्।
महिलाहरूको खेल क्षेत्रमा योगदान, र अन्तर्राष्ट्रिय सफलताको निम्ति महिलाहरूले भोगेको संघर्षलाई हेर्दा यो खेल केवल खेल मात्र होइन, सामाजिक परिवर्तनको प्रतीक पनि बन्न सक्छ ।
शनिबार राति हुने भिडन्त नेपाली महिला फुटबल इतिहासको सबैभन्दा ठुलो मोड बन्न सक्छ। एसियन कप खेल्न पाउनु कुनै सामान्य उपलब्धि होइन। यो नेपालको महिला खेलाडीहरूको आत्मबल, मेहनत र सपना साकार गर्ने अवसर हो।
नेपालले आजको फाइनल खेल जित्नैपर्छ यो नेपाली महिला खेल इतिहासमा पहिलोपटक एसियन कपमा सहभागिता जनाउने देशका लागि ऐतिहासिक क्षण हुनेछ।
खेल जानकारी:
खेल: एएफसी महिला एसियन कप २०२६ छनोट
समुह: एफ
स्थान: तासकन्द, उज्वेकिस्तान
मिति: २०८२ असार २१ गते, शनिबार
समय: राति ९:१५ बजे (नेपाली समयअनुसार)
शनिबारको हुने यो खेल नेपाली फुटबलको लागि महत्त्वपूर्ण अध्याय हुनेछ, अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबल लाई स्थापित गर्ने स्वर्ण युगको शुरूवात हुनेछ।
नेपाल महिला फुटबल टोलीलाई ऐतिहासिक जित सहितको यात्राको हार्दिक शुभकामना !