Headlines

एमालेमा नेतृत्व परिवर्तनको बहस चर्कियो

काठमाडौं, असार १५, २०८२। उपसना पौडेल

 

काठमाडौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा एमालेमा सक्रिय राजनीतिमा पुनः फर्किएको औपचारिक घोषणा गरेसँगै पार्टीभित्रको शक्ति समीकरणमा एकाएक हलचल पैदा भएको छ।

राष्ट्रपतिको दोस्रो कार्यकालपछि साढे दुई वर्ष निष्क्रिय देखिएकी भण्डारीले ‘जबजको तीन दशक’ शीर्षक कार्यक्रममार्फत पार्टी सदस्यता नवीकरण गरी आफू अब एमाले परिवारको एक सक्रिय सदस्य भएको जानकारी दिइन्।

भण्डारीको यो घोषणाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्बिकल्प जस्तो देखिएको वर्चस्वलाई चुनौतिपूर्ण बनाइदिएको देखिएको छ।

विशेषत आउदो भदौमा हुन लागेको पार्टीको विधान महाधिवेशनको संघारमा आएको उनको यो कदमले शक्ति सन्तुलन र नेतृत्वको बहसलाई पुन केन्द्रमा ल्याएको छ।

कार्यक्रमको विशेष अतिथिको रूपमा निम्त्याइएका ओलीले मन्तव्य सकेर कार्यक्रम छोडेपछि भण्डारीले आफ्नो घोषणामा एमालेसँगको सम्बन्ध झन प्रगाढ बनाउँदै अबको यात्रामा पार्टीभित्रै सक्रिय रहने भनाइ राखिन्।

तर यिनै भनाइले दुई नेताबीचको पछिल्लो समय देखिएको चिसोपन झनै उजागर गरेको छ।

ओलीले हालै सार्वजनिक अभिव्यक्तिहरूमा भण्डारीतर्फ इशारा गर्दै गुटगत गतिविधि नगर्न चेतावनी दिएका छन्। अनेरास्ववियुको कार्यक्रमदेखि चीन भ्रमणपछिका अभिव्यक्ति सम्ममा ओलीले कुनै नाम नलिए पनि तलतलको ग्रुप अनौपचारिक दौडधुप, जस्ता शब्दहरूले आन्तरिक तनाव झल्काएका छन्।

भण्डारी निकट नेताहरूले पार्टी विधानमा ७० वर्षको उमेर हद र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था गरिनुपर्ने माग उठाइरहेका छन्। यदि यी प्रावधान विधानमा समावेश भए भने ओलीको आगामी महाधिवेशनमा पुन अध्यक्ष बन्ने बाटो बन्द हुनसक्ने तर्क गरिन्छ।

यसका लागि भण्डारी पक्षधर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पुरानो विधान महाधिवेशनमा नै कार्यकाल र उमेर सीमाको विषय ल्याएको स्मरण गराउँदै पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

तर ओली पक्ष भने यस्तो कुनै प्रावधान विधानमा राख्न नहुनेमा अडिग देखिन्छ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिको कार्यकाल सकेपछि विभिन्न ठाउँमा जनसंवाद, अन्तर्क्रिया र सामाजिक-राजनीतिक विश्लेषणका कार्यक्रममार्फत पुन आफ्नो उपस्थिति जनाएकी थिइन्। यी सबै कदमहरू उनले पार्टीभित्र सक्रिय योगदान दिने मार्ग तय गर्नका लागि भूमिकाका रूपमा प्रस्तुत गरिन्।

उनले भनेकी छन् देश र जनताको हित नै मेरो उद्देश्य हो। राजनीतिक यात्रामा विश्राम हुँदैन, जननेता मदन भण्डारीले भन्ने गर्नुहुन्थ्यो जनता भनेका भगवान् हुन्।

राष्ट्रपतिका रूपमा मुलुकको सर्वोच्च पद सम्हालेकी व्यक्तिले पार्टी राजनीतिमा फर्कनु उपयुक्त हो कि होइन भन्ने बहस समाजमा मात्र होइन, पार्टीभित्र पनि उब्जिएको छ। भण्डारीले आफू कुनै विशिष्ट पदको आकांक्षा नराखेको बताइन् भने पनि पार्टीभित्र उनको आगमनले सम्भावित नेतृत्व प्रतिस्पर्धाको संकेत दिएको छ।

एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले भण्डारीको सक्रियताले पार्टीभित्र ध्रुवीकरण बढ्दैन भन्ने विश्वास व्यक्त गर्दै भने पार्टीमा सदस्य बढ्दा चिन्ता बढ्दैन पार्टी छोड्नेले चिन्ता बढाउँछ।

२०–२२ भदौमा हुन गइरहेको विधान महाधिवेशन र त्यसपछिको महाधिवेशनले एमालेभित्रको शक्ति सन्तुलन, नेतृत्वको निरन्तरता र आन्तरिक लोकतन्त्रको परीक्षण गर्नेछ। महाधिवेशनअघि केन्द्रीय समिति बैठक, पोलिटब्युरोको छलफल र देशभरबाट संकलित सुझावका आधारमा विधान संशोधन गरिने तयारी छ।

यही सन्दर्भमा पार्टीमा ‘पद लिने’ कि ‘सल्लाहकार बन्ने’, ‘बाहिरी समर्थन’ कि ‘भित्रै नेतृत्व सम्हाल्ने’ भन्ने बहस चर्चामा रहेको छ।

एकातिर भण्डारी निकट नेताहरूले उनको पुनरागमनलाई नयाँ ऊर्जा र वैचारिक पुनर्निर्माणको अवसरको रूपमा हेरिरहेका छन् भने अर्कोतर्फ ओली पक्षका नेताहरूले यो कदमलाई पार्टी एकता र अनुशासनमा असर पार्ने सम्भावना भएको बताइरहेका छन्।

ओली निकट नेता पदम गिरी भन्छन् दुवै नेताबीच समझदारीपूर्वक महाधिवेशनसम्म अगाडि बढिन्छ।
शक्ति संघर्ष हुँदैन भन्ने हाम्रो विश्वास हो।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले एमालेभित्र नेतृत्व आन्तरिक लोकतन्त्र र सांगठनिक संरचनाको बहस पुन ताजा बनाएको छ।

यो घटनाले पार्टीभित्र गहिरो बहसको सुरुआत मात्र होइन आगामी दिनमा रणनीतिक समिकरण कसरी बन्छ भन्ने संकेत पनि दिएको छ।

उनको अभिव्यक्ति अब म एमाले परिवारको गर्विलो सदस्यको रूपमा पुनजोडिएको छु ।
केवल औपचारिक घोषणा होइन आगामी महाधिवेशनमा एमालेको भविष्य को बनाउने भन्ने निर्णायक मोड बन्न सक्ने सम्भावना छ।
भण्डारीको पुनरागमनले के ओलीको एकछत्र शासनमा के प्रभाव पुर्‍याउनेछ त ?