
साउन २८, २०८२।
काठमाडौं – नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले विशेष सम्मान गरेको छ। बुधबार आयोजित कार्यक्रममा दुवैजनालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको हो।
रवीन्द्र ढाँटले केही दिनअघि भारतमा सम्पन्न म्याट्रिक्स फाइट नाइट मा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै बान्टमवेट टाइटल जितेका थिए। उनी यो उपाधि जित्ने पहिलो नेपाली बनेका छन्।

यसअघि नेपाल सरकारले उनलाई ५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँसहित सम्मान गरेको थियो।
त्यस्तै राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य सम्झना खड्काले हालै सम्पन्न महिला एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि अर्धशतक प्रहार गरेकी थिइन्।

बझाङ जिल्लामा जन्मिएका यी दुवै खेलाडीको उपलब्धि समुदायको गौरवको विषय बनेको बझाङी समाजले जनाएको छ।