एभरेस्ट महिला भलिबल लिगको सद्भावना दूतमा १२ गाउँकी अभिनेत्री सनिशा भट्टराई नियुक्त भएकी छिन्।
काठमाडौं, साउन ४ – नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री सनिशा भट्टराई एभरेस्ट महिला भलिबल लिग (Everest Women’s Volleyball League – EWVL) को सद्भावना दूत (Goodwill Ambassador) नियुक्त भएकी छिन्।
EWVL आयोजक समिति तथा नेपाल भलिबल संघले एक समारोहबीच सनिशालाई औपचारिक रुपमा सद्भावना दूत घोषणा गरेको हो। खेलकुद र महिला सशक्तिकरणलाई साथ दिने उद्देश्यले अभिनेत्री सनिशालाई यो भूमिकामा चयन गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा बोल्दै अभिनेत्री सनिशाले भनिन्, “खेलकुद क्षेत्रमा महिलाको सक्रिय सहभागिता आजको आवश्यकता हो। यस्तो महत्वपूर्ण लिगसँग जोडिन पाउनु मेरो लागि गर्वको विषय हो। म लिगको प्रवर्द्धनमा सक्दो साथ दिनेछु।
एभरेस्ट महिला भलिबल लिग नेपाली भलिबल इतिहासकै पहिलो महिला फ्रेन्चाइज लिग हो, जसले महिला खेलाडीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्दै आएको छ। पहिलो सिजन सम्पन्न भइसकेको लिगको दोस्रो संस्करण आयोजना हुने तयारीमा छ।
सद्भावना दूतका रुपमा सनिशा अब लिगको प्रचारप्रसार, सामाजिक सञ्जालमार्फत समर्थन, तथा महिला खेलाडीको मनोबल वृद्धि गर्ने कार्यक्रममा सहभागी हुनेछिन्। लिग आयोजकहरूले मनोरञ्जन र खेलकुदको सहकार्यले महिला भलिबलको विकासमा नयाँ गति दिने विश्वास व्यक्त गरेका छन्।