साउन २५, २०८२।
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो सिजनका लागि भएको मिनी अक्सन शनिबार रोमाञ्चक माहोलमा सम्पन्न भयो। सहभागी आठवटै फ्रेन्चाइज टोलीले सीमित बजेटभित्र उत्कृष्ट टिम बनाउने रणनीतिका साथ खेलाडी खरिदमा सक्रिय देखिए।
अक्सनको केन्द्रबिन्दु नेपालका अलराउन्डर आदिल आलम बने। गत वर्षको पहिलो सिजनमा स्पट फिक्सिङ प्रकरणका कारण प्रतिबन्ध झेलेका आदिल हालै निर्दोष ठहरिएपछि मैदानमा फर्किएका हुन्। उनलाई आठै टोलीले बोली लगाए पनि लक्की ड्रमार्फत् काठमाडौँ गोर्खाज ले आफ्नो टिममा भित्र्यायो।
उच्च मूल्य पाउने खेलाडी
आदिलपछि यू–१९ का पूर्व कप्तान देव खनाल, विकेटकिपर ब्याटर अर्जुन साउद, र अलराउन्डर पवन सर्राफ माथि उच्चतम १५ लाख रुपैयाँको बोली लाग्यो। देव र अर्जुन दुवै चितवन राइनोज मा पुगे भने क्याटेगोरी ‘बी’ का हेमन्त धामी १० लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्स मा आबद्ध भए।
अनसोल्ड चर्चित अनुहारहरू
यस सिजनमा राष्ट्रिय टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकर कुनै पनि टिमको रोजाइमा परेनन्। ‘गोल्डेन जेनेरेसन’ का रूपमा चिनिने ३६ वर्षीय भेषावकरलाई गत वर्ष चितवन राइनोजले १० लाखमा भित्र्याएको थियो। त्यसैगरी सुनिल धमला, सन्तोष कार्की, मौसम ढकाल, पृथु बास्कोटा, रित गौतम, कृष्ण कार्की, भुवन कार्की, प्रदीप ऐरी, अनिल खरेल, जितेन्द्र मुखिया र शङ्कर राना पनि यो अक्सनमा बिकेनन्।
‘विस लिस्ट’ बाट चयन
अक्सनमा ३७ खेलाडी खरिद हुनुपर्नेमा पहिलो चरणमा २६ मात्र किन्न सकियो। बाँकी ११ खेलाडीहरू ‘विस लिस्ट’ बाट छानिए। यसमा दीपक बोहरा, दुर्गेश गुप्ता, विपिन रावल, मिलन बोहरा, आदिल खान, विपिन आचार्य, रञ्जित कुमार, विकास आग्रा, सर्वन किस्कु, सन्दीप केसी लगायतका नाम परे।
अब ध्यान विदेशी खेलाडीमा
मिनी अक्सन सकिएपछि टोलीहरूको ध्यान अब विदेशी खेलाडी भित्र्याउनतर्फ केन्द्रित भएको छ। पहिलो संस्करणमा शिखर धवन, जिम्मी निशम, सोहेल तनवर, रवि बोपारा, बेन कटिङ, मार्टिन गप्टिल जस्ता नाम खेल्न आएका थिए। यसपालि आईसीसीसँग ‘टेस्ट राष्ट्र’ का खेलाडी संख्यामा रहेको सीमा हटाउन पहल भइसकेको क्यानले जनाएको छ।
एनपीएल दोस्रो सिजनको खेल तालिका भने अझै सार्वजनिक भएको छैन। नियमअनुसार एक टोलीले अधिकतम पाँच विदेशी खेलाडी किन्न सक्नेछ र चारजनासम्म मात्र प्लेइङ–११ मा उतार्न पाउनेछ।