साउन १९, २०८२।
काठमाडौं – नेपाली एथलेटिक्स खेलको विकास र प्रवर्द्धनमा समर्पित संस्था एथलेटिक्स परिवार, नेपाल को चौथो वार्षिक साधारण सभा तथा वार्षिकोत्सव समारोह भव्य रूपमा काठमाडौंमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने संस्थाका सल्लाहकार मोहन नेपाल को सभापतित्वमा सभा सञ्चालन भएको थियो।
संस्थाका अध्यक्ष राजन खत्री ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम र बजेट प्रस्तुत गरे। महासचिव मन्जु श्रेष्ठको तर्फबाट बाबुराजा श्रेष्ठ ले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रेम महतले आय-व्यय विवरण पेश गरेका थिए।
समारोहको विशेष आकर्षणको रूपमा एथलेटिक्स खेलमा उत्कृष्ट योगदान दिएका खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको थियो।
त्रिभुवन आर्मी क्लबका लामो दूरीका धावक खड्कबहादुर खड्का र पूर्णलक्ष्मी न्यौपाने, साथै प्रशिक्षक सिताराम चौधरी र देबीबहादुर बस्नेतलाई विशेष सम्मान प्रदान गरिएको थियो।
संस्थाले नयाँ वर्षका लागि निम्न कार्यक्रमहरू आयोजना गर्ने घोषणा गरेको छ।
चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट: कात्तिक २७–२९ गते, काठमाडौं
नेपाल रन ५ कि.मि. च्यालेन्ज: असोजदेखि नेपालका पाँच स्थानहरूमा
राष्ट्रिय मिक्स रिले रन: पुस महिनामा काठमाडौंमा
गत आर्थिक वर्षमा एथलेटिक्स परिवारले १४ वटा खेलकुद कार्यक्रममा प्राविधिक सहयोग प्रदान गरेको थियो। आउँदो वर्षमा पनि १० वटा एथलेटिक्स प्रतियोगितामा प्राविधिक साझेदारी गर्ने योजना अध्यक्ष खत्रीले जानकारी दिए।
नेपाली खेलकुदको आधारभूत खेलको रूपमा चिनिएको एथलेटिक्सलाई राष्ट्रियस्तरमा मजबुत बनाउने उद्देश्यले स्थापित एथलेटिक्स परिवार, नेपालले छोटो अवधिमा प्रभावशाली काम गर्दै आएको छ। प्रतिभाशाली खेलाडी र समर्पित प्रशिक्षकहरूको सम्मान तथा नयाँ कार्यक्रमहरूको घोषणाले संस्थाको प्रतिबद्धता स्पष्ट देखिन्छ।