अमेरिकी हस्तक्षेपले इजरायल–इरान द्वन्द्व चुलियो, विश्व तेस्रो विश्वयुद्धको संघारमा?
काठमाडौँ,असार ८, २०८२ इजरायल र इरानबीच लामो समयदेखि चल्दै आएको तनाव अन्ततः खुला युद्धमा परिणत भएको छ। झन् यसमा विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका खुलेर होमिएपछि यो संघर्ष अब केवल दुई देशको सीमित द्वन्द्व नभएर सम्भावित तेस्रो विश्वयुद्धतर्फ उन्मुख भइरहेको संकेत देखिएको छ।
अमेरिकाले आइतबार बिहान इरानका तीनवटा महत्त्वपूर्ण परमाणु केन्द्रहरूमा आक्रमण गरेको पुष्टि राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयं गरेका छन्। यी तीन स्थल हुन् फोर्दो, नतान्ज र इस्फहान। अमेरिकी आक्रमणपछि मध्यपूर्वको भूगोल फेरि अशान्त बनेको छ, जहाँ शान्तिको अपेक्षा अब युद्धको गन्धमा रूपान्तरण भइरहेको छ।
ट्रम्पको युद्ध घोषणाजस्तै ट्वीट
आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत घोषणा गरे सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किएका छन्। हाम्रा महान् अमेरिकी योद्धालाई बधाई। विश्वमा हाम्रो जस्तो कुनै सेना छैन। अब शान्तिको समय हो।
तर उनले लेखेको अब शान्तिको समय हो भन्ने वाक्य स्वयं एक जङ्गघोष जस्तो लागिरहेको छ किनभने त्यही ट्वीटमार्फत उनले इरानलाई युद्ध अन्त्यका लागि सहमति खोज्नुपर्ने चेतावनी पनि दिएका छन्।
इरानको प्रतिक्रिया : हमला रोक्न असफल तर लड्न तयार
इरानले आक्रमणको पुष्टि गर्दै आफ्ना तीनवटै केन्द्र खाली गरिसकेको बताएको छ। तर उनीहरूको सैन्य स्रोतले भन्यो हमला रोक्ने प्रयास गरियो, सफल भयेन। तर हाम्रो लडाइँ जारी रहनेछ।
इरानको सरकारी समाचार संस्था IREB अनुसार आक्रमण हुनुअघि केही समयमै ती केन्द्रहरू खाली गरिएको थियो। यसबाट अनुमान गर्न सकिन्छ कि इरान पहिले नै यस्तो आक्रमणको आशंकामा थियो। यद्यपि क्षतिको विवरण सार्वजनिक गरिएको छैन।
यो आक्रमण केवल सैन्य कार्य होइन, यो एक रणनीतिक सन्देश पनि हो। अमेरिका इजरायलको खुला समर्थनमा उत्रिएको छ जबकि इरानलाई चीन, रुसजस्ता देशहरूको कूटनीतिक समर्थन रहेको देखिन्छ। युद्ध केवल क्षेत्रीय नभई भूराजनीतिक शक्तिकेन्द्रहरूको टकरावमा परिणत हुने खतरा बढेको छ।
यसैबेला यमनका हुथी विद्रोही समूहका नेता मोहम्मद अल–फराहले चेतावनी दिएका छन् अमेरिकाले सुरु गरेको आक्रमण युद्धको अन्त्य होइन, सुरुवात हो। अब हिट एन्ड रनको युग सुरु भयो।
इरानको कूटनीतिक रक्षात्मक मोर्चा इरानले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै अमेरिका र इजरायलको संयुक्त आक्रमणको विरोध गर्दै आएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेरेसले समेत यो द्वन्द्वलाई नियन्त्रण गर्न कूटनीतिक पहल आवश्यक भएको बताएका छन्।
तर इरानले स्पष्ट रूपमा भनेको छ जबसम्म इजरायलको आक्रमण रोकिँदैन, परमाणु कार्यक्रमबारे कुनै वार्ता हुँदैन।
युद्धको प्रत्यक्ष प्रभाव नागरिक, अर्थतन्त्र र कूटनीति सबै जोखिममा युद्धले केवल सैनिक र सैन्य संरचना ध्वस्त पार्दैन, यसको असर नागरिक जीवन, आर्थिक बजार, तेल मूल्य, र अन्तर्राष्ट्रिय व्यापारमा चर्को असर पार्दछ।तेलको मूल्य १५% ले उकालो लागेको छ। अमेरिकामा स्टक मार्केट ४% तल झरेको छ।
भारत, नेपाल, श्रीलंका लगायतका देशहरूमा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने अभियान सुरु गरिएको छ। भारतले तेहरानमा रहेका नेपाल र श्रीलंकाका नागरिकहरूको उद्धार अभियानमा सहयोग गरिरहेको जानकारी प्राप्त भएको छ। यो कदमले भारतको क्षेत्रीय कूटनीतिक सक्रियता देखाएको छ।
युद्ध विस्तारको डर नयाँ राष्ट्रहरू तानिने सम्भावना यदि यही क्रम जारी रह्यो भने साउदी अरेबिया, युएई, टर्कीजस्ता राष्ट्रहरू पनि युद्धको सिधा या अप्रत्यक्ष रूपमा भागीदार बन्न सक्छन्।
चीन र रूसले अमेरिकाको कदमको विरोध गर्ने सम्भावना बलियो देखिएको छ भने पाकिस्तानले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन प्रस्ताव राखेर अप्रत्यासित समर्थन जनाएको छ ।
युद्धले तेहरानमा रहेको अष्ट्रेलियन दूतावास बन्द गर्न बाध्य बनाएको छ। अन्य धेरै राष्ट्रले आफ्नो कूटनीतिक उपस्थितिमा परिवर्तन गर्न थालेका छन्। साथै, नेपाल, बांग्लादेश, मलेसिया लगायतका देशहरूले तेहरानस्थित दूतावासमार्फत आपतकालीन सम्पर्क प्रणाली सक्रिय गरेका छन्।
नेपाली नागरिकहरूका लागि चेतावनी र सुरक्षा आग्रह
नेपाल सरकारले इरान र इजरायल आसपास कार्यरत नेपालीहरूलाई अत्यधिक सतर्कता अपनाउन भनेको छ। तेहरानमा रहेका ११ जना नेपालीलाई मशहद स्थानान्तरण गर्ने तयारी भएको जानकारी प्राप्त भएको छ। त्यस्तै, वैदेशिक रोजगार विभागले नयाँ नेपाली कामदार पठाउने प्रक्रिया रोक्न सक्ने संकेत दिएको छ।
वर्तमान अवस्था हेर्दा, यो युद्ध तुरुन्त शान्ति वार्ताबाट अन्त्य हुने सम्भावना न्यून देखिन्छ। युद्धको डोरी एकपटक तानिएपछि त्यसलाई फुकाल्न समय लाग्छ विशेषगरी जब त्यहाँ शक्तिराष्ट्रहरूको हस्तक्षेप हुन्छ।
तर एउटै सन्देश अहिले विश्वभर छरिएको छ यो केवल इजरायल र इरानको युद्ध होइन, यो शान्तिको अस्तित्व माथिको युद्ध हो।