काठमाडौँ, श्रावण १२ – नागरिक उन्मुक्ति पार्टीमा कार्यवाहक अध्यक्ष तोकिएको विषयले गम्भीर आन्तरिक विवाद निम्त्याएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्य कारण देखाउँदै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष नियुक्त गरेपछि संस्थापक केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका छन्। संरक्षक रेशम चौधरीले उक्त निर्णयलाई “मनपरी” भन्दै सार्वजनिक रूपमा विरोध गरेका छन्।
रेशम चौधरीका अनुसार पार्टी विधानले अध्यक्षलाई एकल निर्णयमा कार्यवाहक तोक्ने अधिकार दिएको छैन। २१ सदस्यीय संस्थापक केन्द्रीय समितिमा बास्तोलाजी छैनन्, समिति छलफलबिनै कार्यवाहक तोकिएको छ, चौधरीले बताएका छन्।
उनले सामाजिक सञ्जालबाट मात्र नियुक्तिको जानकारी पाएको दाबी गरे। चौधरीले भने पार्टीको विधानले अध्यक्षलाई निरंकुश बन्न दिने प्रावधान छैन। बहुमत सदस्यले विरोध गरिसकेका छन्।
अध्यक्ष श्रेष्ठ पोखराको चर्चित लिची बगान जग्गा प्रकरणमा मुछिएपछि यो विषय थप चुलिएको हो। चौधरीका अनुसार अध्यक्ष श्रेष्ठले पार्टीमा औपचारिक जवाफ नै नदिएको र बैठकसमेत नबोलाएको आरोप छ। यदि निर्दोष हुनुहुन्छ भने पार्टीमा प्रस्ट पार्नुपर्ने हो तर उहाँ चुप लागेर बस्नुभयो उनले भने।
रेशम चौधरीले रञ्जिता श्रेष्ठ आफ्नी धर्मपत्नी भए पनि पार्टी अलग संस्था भएको भन्दै उनको निर्णयको खुला आलोचना गरे। पार्टी निर्णय सबैले मान्नैपर्छ। अध्यक्षले जवाफ दिन नसक्दा कार्यकर्ता पनि बचाउ गर्न सकिरहेका छैनन्,उनले भने।
पार्टीको बहुमत केन्द्रीय सदस्यले अध्यक्षको निर्णयविरुद्ध अनुशासन आयोग सक्रिय गराउनुपर्ने माग गर्दै बैठकको माग गरेका छन्। अनुशासन आयोगले स्पष्ट धारणा बनाउनेछ चौधरीले बताए।
उनले उन्मुक्ति पार्टी थारू समुदायको त्याग र संघर्षको उपज भएको स्मरण गर्दै बास्तोलालाई कार्यवाहक बनाउने निर्णयले पार्टीको आत्मालाई कमजोर बनाएको टिप्पणी गरे। के आधारमा फेवातालको किनारमा उभिएको पात्रलाई नेतृत्व सुम्पनुभयो? भन्दै उनले प्रश्न उठाए।