बबईको बाढी सदरमुकाम गुलरिया पस्यो, सयौं घर डुबानमा

19

बर्दिया, २९ साउन । शुक्रबार र शनिबार परेको अबिरल वर्षाले गर्दा बबई नदीमा भिषण बाढी आएको छ । बबई नदीको बाढी आइतबार राती सदरमुकाम गुलरिया पसेको छ । बबईको बाढीका कारण सदरमुकाम गुलरियाको बालापुर, सूर्यगौडी, इन्द्रपुर, टँडुवा, कोठिया, भादा, खैरापुर, पण्डीतपुरलगायतका गाउँ डुवानमा परेका छन् ।

सदरमुकामस्थित जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालय परिसर पनि जलमग्न भएको छ । बाढी सदरमुकाम पसेपछि त्यस क्षेत्रका हजारौं स्थानीयबासी प्रभावित भएका छन् । बाढी सदरमुकाम पस्ने क्रम नरोकिएको बताइएको छ ।

यसैगरि बबई नदीसहित स्थानीय खोलामा आएको बाढीका कारण बर्दियामा सयौँ घर डुबानमा परेको बताइएको छ । बाढीले भुरीगाउँ, बाँसगढी, मगरागढी, ठाकुरद्वारालगायतका मुख्य बजार पनि जलमग्न भएका छन । बाढीका कारण सदरमुकाम नेपालगञ्ज गुलरिया र भुरीगाउँ वेलवा गुलरीया जोडने हुलाकी सडक समेत अवरुद्ध भएको छ ।

बाढीका कारण ठाकुरबाबा नगरपालिकाको आम्वासा, भुरीगाउँ बजार, रानीपुर, नेउलापुर, बगनाह, मिर्चैया, ठाकुरद्धारा, सूर्यपटुवा यसैगरी बारबर्दिया नगरपालिका पदनाहा, घोरपिट्टा, रानीपुर, धधवार, मगरागाडी र बाँसगढी नगरपालिका लगायतका वस्तीका हजारौं स्थानीय विस्थापित भएका छन । बाढीबाट विस्थापितहरु सुरक्षित स्थानको खोजी गर्दै विद्यालय, सामुदायिक भवन तथा सडकका किनारमा आश्रय लिएर बसेका छन ।

१ को मृत्यु, एक बेपत्ता बाढीका कारण घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका २ की ७० वर्षीया साउनी थारुको ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरि शुक्रवार बबई नदीमा दाउरा झिक्ने क्रममा बारबर्दिया नगरपालिका १० का २९ बर्षीय राजेन्द्र थारु बेपत्ता भएका थिए ।

बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री आउँदै

बर्दियाको बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि गृहमन्त्री जर्नादन शर्मा बर्दिया आउँदै छन् । बर्दियाको सदरमुकाम गुलरीयामा बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार र राहतको विषयमा जानकारी लिन गृृहमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली सदरमुकाम गुलरीया आउने बताइएको छ ।

Loading...